शनि, साउन ९, २०८३
Sat, July 25, 2026

२५ वर्षदेखि बन्द रहेको पैयुँको अस्पताल सञ्चालन गर्ने तयारी

साउन ९, २०८३

पर्वत : जिल्लाको पैयुँ गाउँपालिका–४ मा रहेर करिब २५ वर्षदेखि बन्द रहेको मिसन अस्पताल सञ्चालन गर्न मेडिहेल्थ सेन्टर समितिले प्रक्रिया अगाडि बढाएको छ।
गैह्रआवासीय नेपाली सङ्घ  राष्ट्रिय समन्वय परिषद्, अमेरिका अन्तर्गतको एनआरएनए मेडिहेल्थ सेन्टर समितिको पहलमा एनआरएनए मेडिहेल्थ सेन्टर दर्ता भई आधिकारिक दर्ता प्रमाणपत्र पनि प्राप्त भएको छ। यससँगै अमेरिकी सहयोगमा  २०५० सालमा सञ्चालन भए पनि जनयुद्धको बेलामा बन्द भएको अस्पताल पुनः सञ्चालनको तयारी सुरु भएको छ।
एनआरएनए मेडिहेल्थ समितिका अध्यक्ष माधव मरासिनीका अनुसार एनआरएनए मेडिहेल्थ सेन्टर नेपाल सरकारको कम्पनी रजिस्ट्रार कार्यालयमा आधिकारिक रूपमा दर्ता भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कम्पनी रजिस्ट्रार कार्यालयले मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा दर्ता प्रमाणपत्र जारी गरेको हो।
मरासिनीकै अग्रसरतामा अघि बढाइएको ‘एनआरएनए मेडिहेल्थ सेन्टर–मिसन हस्पिटल रिभाइभल प्रोजेक्ट’ अन्तर्गत अस्पताल सञ्चालनमा आएपछि विशेषज्ञ सेवा प्राप्त गर्न स्याङ्जाको वालिङ र अन्य स्थानमा जानुपर्ने बाध्यता हट्ने भएको छ। हुवास बजार वालिङबाट नजिकै रहेकोले पैयुँ र आसपासका स्थानीय तहका बिरामीहरू विशेषज्ञ सेवा प्राप्त गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको छ।
अमेरिकी सेवाभावी नागरिकहरूले नेपालको दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा विस्तारका लागि गरेको योगदानलाई सम्मान गर्दै सेवा, करुणा र मानवताको ऐतिहासिक विरासतलाई पुनर्जीवित गर्ने प्रयास आफूहरूले गरेको अध्यक्ष मरासिनीले बताए। ऐतिहासिक अस्पताललाई पुनः सञ्चालनमा ल्याई ग्रामीण नेपालका नागरिकलाई गुणस्तरीय, सहज र दिगो स्वास्थ्य सेवा उपलब्ध गराउने दिशामा काम अघि बढाइने उनको भनाइ छ। संस्थागत रूपमा अघि सारिएको यस सामाजिक तथा मानवीय परियोजनाले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्  र एनआरएनए एनसीसी अमेरिकाबाट आवश्यक सहयोग र समर्थन पाउनुपर्ने धारणा व्यक्त गरेका छन्।
अमेरिकामा रहेका नेपाली, त्यहाँ कार्यरत र अध्ययनरत नेपाली चिकित्सकसहित नेपालमा रहेका विशेषज्ञ चिकित्सकहरूसँग पनि अस्पताल सञ्चालनको लागि समन्वय भइरहेको छ।
जिल्लाको दक्षिणी क्षेत्रमा रहेको उक्त अस्पतालबाट पर्वतसहित छिमेकी जिल्लाहरूका बिरामीहरूलाई समेत सेवा दिने गरी सञ्चालन भएको भए पनि जनयुद्धकलामा चिकित्सक बस्न नसक्ने लगायतका समस्याहरू आएपछि अस्पताल बन्द भएको थियो।
करिब ८/१० वर्षसम्म चलेको अस्पतालले स्थानीयलाई निकै सहज बनाएको भए पनि अस्पताल बन्द भएपछि त्यहाँका नागरिकहरू सदरमुकाम कुश्मा बजारसहित पोखरा र स्याङ्जाको वालिङ लगायतका ठाउँमा जान बाध्य छन्। अस्पताल बन्द हुँदा भौतिक संरचना समेत लामो समयदेखि अलपत्र परेको अवस्थामा मेडिहेल्थले अग्रसरता लिएको हो।
करिब सात रोपनी क्षेत्रफलमा अस्पतालको भवन अलपत्र अवस्थामा छ। अझै पनि केही नभएका दुई वटा भवन,  पुराना फर्निचर र बन्दोबस्तका  सामानहरू पनि भवनमा छन्। अस्पताल सञ्चालनको लागि सहज बनाउन दुई वर्ष अगाडि  तार बार र भवन र रोगनको काम सहित स्वास्थ्य शिविरको आयोजना समेत भएको थियो।
पैयुँ गाउँपालिकाका निवर्तमान अध्यक्ष खगेन्द्रप्रसाद तिवारीका अनुसार कोभिड–१९ को महामारीको बेलामा उक्त अस्पताललाई गाउँपालिकाले सञ्चालन गर्ने प्रयास गरेको थियो। तर अस्पताललाई अहिले रहेकै स्थानमा राख्ने की अन्यत्रै सार्ने भन्ने विषयमा अल्झिएपछि गाउँपालिकाको प्रयास सफल हुन सकेको थिएन। त्यस बाहेक अस्पताल नै सञ्चालन गर्नको लागि आवश्यक पर्ने बजेट गाउँपालिकामा नहुने भएपछि फेरि बन्द हुन सक्ने जोखिमका कारण पनि गाउँपालिकाले सञ्चालन गर्न नसकेको उनको भनाई छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive