मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

मध्यमोदी जलविद्युत् : परीक्षण सफल, अब व्यावसायिक उत्पादन

पुस १३, २०७९

पर्वत : मोदी खोलामा निर्माण भएको मध्यमोदी जलविद्युत् आयोजनाको परीक्षण सफल भएपछि अब व्यावसायिकरूपमा उत्पादन थालिने भएको छ।

२०७१ सालको मङ्सिरबाट मिडिल मोदी हाइड्रोपावर लिमिटेडले निर्माण सुरु गरेको आयोजनाको काम आठ वर्षमा पूरा भएको हो। विद्युत् गृह प्रमुख प्रविन देसारका अनुसार निर्माण पूरा भएपछि गरिएको परीक्षण सफल भएकाले केही दिनमा नै व्यावसायिकरूपमा विद्युत् उत्पादन गर्न लागिएको हो। १८ मेगावाट विद्युत् उत्पादन गर्न सक्ने क्षमता रहेको आयोजनाले परीक्षणको समय तथा पुस महिनामा छ हजार १२७ किलोवाट उत्पादन दिएको छ।

‘हामीले इन्स्टल गरेको टोटल क्षमता १८ मेगावाट हो। तर हिउँदका महिनामा विद्युत् उत्पादन कम हुन्छ। यो रन अफ रिभरमा आधारित आयोजना हो। यसमा उत्पादन घटबढ हुन्छ। अहिले खोलामा पानीको वहाब कम हुन्छ’, देसार भन्छन्, ‘हामीले परीक्षणको सबै काम पूरा गरेका छौँ। यही डिसेम्बरबाट नै व्यवसायिक उत्पादन सुरु गर्ने गरी काम भइरहेको छ।’ दुई टर्वाइन प्रयोग गरिएको आयोजनाको अहिलेको भोल्टेज ११ के.भी रहेको उनले बताए।

कास्कीको अन्नपूर्ण गाउँपालिका–३ बिरेठाँटी र नजिकै पर्ने पर्वतको मोदी गाउँपालिका–१ भूकको भुरुङडाँडामा बाँध निर्माण गरेर ल्याइएको मोदी खोलाको पानी पर्वतको मोदी गाउँपालिका–२ समादीमा खसालिएको छ। आयोजनाका लागि दुई हजार ८४० मिटर लम्बाईको ‘टनेल’ बाट पानी ल्याइएको पानी ७७ मिटर लामो टेलरेसबाट मोदी खोलामा खसालिएको छ। तीन वर्षमा नै आयोजना निर्माणको काम सक्नेगरी काम थालिएको भए पनि निर्माणका क्रममा विविध समस्याका कारण आयोजनाको काम थप तीन वर्ष पछाडि धकेलिएको हो।

आयोजनाले २०७४ मंसिरमा निर्माणको काम सक्ने लक्ष्य राखेको थियो। निर्माण सुरु गर्ने बेलामा १५.१ मेगावाटसम्म विद्युत् उत्पादन गर्न सकिने भनिएको थियो। तर निर्माण कार्य चल्दै जाँदा आयोजनाको लागत सहित उत्पादन क्षमता १८ मेगावाट पुगेको हो।

सुरुमा दुई अर्ब ८० करोड लागत लाग्ने अनुमान गरिए  पनि निर्माणमा भएको ढिलाइ, महँगी, आन्दोलन लगायतका समस्याका कारण आयोजनाको लगानी सोचेको भन्दा दोब्बर अर्थात चार अर्ब ९२ करोड रुपैयाँ पुगेको छ। प्रभावित क्षेत्रका नागरिक तथा आयोजनामा कार्यरत कर्मचारीको पटक–पटकको आन्दोलन र विरोध,  प्राकृतिक विपद् लगायतका कारण आयोजनाको अवधि लम्बिएको हो।

स्थानीयवासीका मागका कारण हुने विवाद, माटोको चापका कारण ‘टनेल’ खुम्चीने, ‘पावर हाउस’ रहेको ठाउँमा आउने बाढी, ‘स्वीचयार्ड’ ‘टेल रेस’ तथा निर्माण क्षेत्रमा हुने पानीको चुहावट, इन्टेक क्षेत्रमा भएको ‘हेभी स्कोरिङ’, कोभिड–१९ महामारीका कारण सामग्री आयात र कामदारमा परेको प्रभाव लगायतका समस्याका कारण पनि आयोजनाले समस्या भोग्नुपरेको विद्युत् गृह प्रमुख देसारले बताए।

आयोजनाको सुरुङ निर्माण गर्दा स्थानीयवासीका घरमा क्षति पुगेको भन्दै पुनःनिर्माण तथा क्षतिपूर्तिको माग भयो।   प्रभावित क्षेत्र मोदी गाउँपालिका १ र २ मा पर्ने मख, ठाना, कल्लेनी र ओख्ले बस्तीका घर भूकम्पले झै भत्किन थालेपछि स्थानीयवासी आन्दोलित बने। भूगर्वविद् र प्राविधिक टोलीले दिएको रिपोर्टका आधारमा आयोजनाले रकम दिने सहमति भएपछि काम सहज भएको थियो।

२०७२ सालमा भूकम्पको मारमा परेको आयोजनाले बाढी र पहिरोको पनि उस्तै सामना गर्नुपरेको थियो। तर, पछिल्लो एक वर्षयता आयोजना निर्माणमा कुनै पनि पक्षबाट विरोध नभएपछि कामले तीव्रता पाएको थियो।

चौधरी ग्रुपले विद्युत् प्राधिकरणसँग विद्युत् खरिद समझौता (पीपीए) गरेको छ। सम्झौताअनुसार प्राधिकरणले आयोजना निर्माण सम्पन्न हुनुअघि नै विद्युत् गृहदेखि देउपुरसम्म चार किलोमिटर लामो प्रसारण लाइन बनाइएको छ। विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीका अनुसार पुस ५ गते अगाडि नै परीक्षणको काम सकिएपछि त्यसयताका १५ दिनलाई ‘ट्रायल फेज’ का रूपमा राखिएको थियो।

त्यहाँबाट उत्पादन हुने बिद्युतलाई मोदी गाउँपालिकाकै पातिचौरमा रहेको कोरुङ्गा सब स्टेशनमा लगेर १३२ के.भी लाइनमा जोडेर राष्ट्रिय प्रसाारण लाइनमा पठाइने छ। पातिचौर सव–स्टेशनबाट कास्कीको पोखरामा रहेको लेखनाथमा पुग्ने र अर्को जडान कास्कीकै माछापुच्छ्रे गाउँपालिकाको लाहाचोक पुग्नेछ।

थाहाखबरबाट साभार गरिएको सामग्री ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive