मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

खडेरीले पानी अभाव भएपछि मंगलबारदेखि कुश्मामा पानीको ‘लोड सेडिङ’ सुरू

बैशाख १८, २०८१

पर्वत : खडेरीका कारण पानीका स्रोतहरूमै पानीको सतह घट्दा पर्वत सदरमुकाम कुश्मा बजारमा पानीको ‘लोड सेडिङ’ सुरू भएको छ।

शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामार्फत पानीको वितरणका लागि प्रयोगमा रहेका ट्याङ्कीमा अहिले प्रति सेकेन्ड ३३ लिटरका दरले पानी खसिरहेको छ। जबकि माग अनुसार पानीको आपूर्ति दिने हो भने कुश्मा बजारमा जडान भएका करिब दुई हजार छ सय धारामार्फत पानी बाँड्न संस्थाको ट्याङ्कीमा प्रति सेकेन्ड ६० लिटरका दरले पानी खस्नुपर्छ।

खडेरी परेपछि अहिले कुश्माका लागि प्रति २४ घण्टामा भएको २८ लाख ५१ हजार दुई सय लिटर पानीको आपूर्ति भइरहेको छ। तर बजारको माग अनुसार पानी छाड्ने हो भने प्रत्येक २४ घण्टामा ५१ लाख ८४ हजार लिटर पानी संस्थाको ट्याङ्कीमा खसेको हुनुपर्ने संस्थाका अध्यक्ष रवि कुमार श्रेष्ठले बताए। आकाशे वर्षा भएको भए तरकारी खेतीका लागि पानी नचाहिँदा संस्थाले अहिलेकै आपूर्तिबाट पनि सकेसम्म मिलाएर बाँड्न सक्ने उनको भनाइ छ।

‘यो बेलामा आकाशे वर्षा भएको भए तरकारी वा अन्य घर बाहिरको प्रयोजनको लागि चाहिने पानीको आपूर्ति हामीले गर्नुपर्ने थिएन। घरभित्रको लागि मात्रै त संस्थाले दिने पानीले जसोतसो हुन्थ्यो होला’, उनले भने, ‘घरभित्रका लागि नै पानी नपुगेको बेलामा केहीले यही पानीलाई तरकारीमा लगाउनुभएको छ। कोहीले वितरित धारामा मोटर जोडेर अरूको आवश्यकतामा ध्यान नदिएको पाइएको छ।’

अहिले कुश्मामा मोदी गाउँपालिकाको पाती खोलाबाट १६ लिटर, कुश्मा नगरपालिका स्थित खुर्कोटको क्यादी खोलाबाट सात लिटर, फाप्रे खोला लिफ्टीङबाट पाँच लिटर र डिप बोरिङबाट पाँच लिटर प्रति सेकेन्डका दरमा  पानी आइरहेको छ। लिफ्टीङ र बोरिङको आपूर्ति सधैँ एकैनास हुने भए पनि क्यादी खोलाको मुहानबाट भने सधैँ एकैनासको पानी आउँदैन। अब बर्खा लागेपछि प्रति सेकेन्ड ३५ लिटरसम्म पानी आउने क्यादी खोला अहिले सात लिटरमा पुगेको छ।

पानीको आपूर्तिमा नै समस्या भएपछि मंगलवारदेखि लागू हुने गरेर संस्थाले बजारका विभिन्न क्षेत्रमा पालो अनुसार पानीको वितरण गर्न पानीको ‘लोड सेडिङ’ सुरू गरेको छ। कुश्मा बजारका विभिन्न भागहरूलाई छ भागमा बाँडेर तीमध्येका तीन ओटामा बिहानको समय र तीन ओटामा बेलुकाको समयमा मात्रै आपूर्ति व्यवस्था मिलाइएको अध्यक्ष श्रेष्ठले बताए।

गर्मी तथा खडेरीकै बेलामा पानीको आपूर्ति माग बढी हुने भए पनि यही बेलामा पानीको समस्या झेल्नुपर्दा बजारको बसाई कठिन रहेको बजारवासीहरू बताउँछन्। दैनिक उपभोग्य तथा नियमित क्रियाकलापको लागि नै पानीको अभाव भइरहेको बेलामा स–साना क्षेत्र तथा कौसी खेतीका रूपमा लगाइएका तरकारी बाली समेत सुक्न थालेका छन्। केही समय पहिले सामान्य वर्षा भएको भए पनि पछिल्ला दिनमा बढिरहेको तापक्रमका कारण जनजीवन कष्टपूर्ण बनेकै बेलामा पानीको अभावले अवस्था झनै कठिन बनेको उपभोक्ताको दुखेसो छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive