मङ्ल, फाल्गुन २६, २०८२
Tue, March 10, 2026

गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको परिमार्जित आधार पत्र सार्वजनिक

जेष्ठ ११, २०८१

पर्वत : गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको परिमार्जित आधार पत्र, २०८१ सार्वजनिक गरिएको छ। गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को गत जेठ चार गतेको निर्णयअनुसार स्वीकृत दोस्रो पञ्चवर्षीय योजना (२०८१-८२–२०८५-०८६) को परिमार्जित आधार पत्र मुख्यमन्त्री खगराज अधिकारीले सार्वजनिक गरेका हुन्।

राष्ट्रिय योजना आयोगले प्रदेशलाई परिपत्र गरी १४ वटा विषयगत क्षेत्र निर्धारण गरी योजना बनाउन निर्देश गरे पनि त्यसलाई अवलम्बन नगरेको पाइएकाले आधार पत्र परिमार्जन गरिएको उनको भनाइ छ।

‘गरिबी न्यूनीकरण, समतामूलक समाज स्थापना र स्थानीय आर्थिक विकासलाई आधार पत्रले समेटेको रहेनछ, हामीले दिनको १८ घण्टाभन्दा बढी काम गरेर यसमा परिमार्जन गरेका छौँ’, मुख्यमन्त्री अधिकारीले भने, ‘दोस्रो आवधिक योजनाका उद्देश्य आर्थिक वृद्धि एवं विकासका लाभको समतामूलक र न्यायोचित वितरण मार्फत समाजवाद उन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु रहेको छ।’

प्रदेश नीति तथा योजना आयोगको अध्यक्ष समेत रहेका मुख्यमन्त्री अधिकारीले मानव पुँजी निर्माण, गुणस्तरीय पूर्वाधारको विकास एवं उत्पादन र उत्पादकत्व वृद्धि गर्दै समृद्ध प्रदेशको आधारशिला निर्माण गर्नु तथा गुणस्तरीय सार्वजनिक सेवा प्रवाहमा प्रदेशवासीको सहज पहुँच र सुशासन अभिवृद्धि गर्नुसमेत योजनाका उद्देश्यका रूपमा राखिएका छन्।

सङ्घीयता कार्यान्वयनको हालसम्म प्राप्त महत्त्वपूर्ण उपलब्धि र अनुभव समेतका आधारमा संविधान निर्दिष्ट एकल तथा साझा अधिकारका विषयलाई कार्यान्वयन गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न गण्डकी प्रदेश सरकार अग्रसर रहेको मुख्यमन्त्री अधिकारीको भनाइ छ।

उनले समाजवाद उन्मुख स्वतन्त्र, आत्मनिर्भर र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्यलाई सार्थकता प्रदान गर्न  ‘समृद्ध प्रदेशः सुखी प्रदेशवासी’ लाई मूल उद्घोष मान्दै दोस्रो पञ्चवर्षीय योजनाको सोच तय गरिएको बताएका छन्।

उक्त प्रादेशिक सोच हासिल गर्न उत्पादकत्व वृद्धि, मर्यादित जीवन र सामाजिक न्याय सहितको सुशासनयुक्त समुन्नत प्रदेश निर्माण गर्ने लक्ष्य निर्धारण गरिएको छ। समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न अभिप्रेरित रही गरिबी न्यूनीकरण, आर्थिक असमानताको न्यूनीकरण, सामाजिक समानता र स्थानीय आर्थिक विकासमा जोड दिँदै उल्लेखित लक्ष्य प्राप्तिका लागि प्रादेशिक उद्देश्य सहितका समष्टिगत रणनीति र प्रादेशिक विकास तथा रूपान्तरणका प्राथमिक क्षेत्रहरू पहिचान गरिएको छ।

प्रदेश विकासका समष्टिगत रणनीतिहरूमा उत्पादन तथा उत्पादकत्व र दिगो आर्थिक वृद्धि गर्ने, मानव पुँजी निर्माण तथा न्यायपूर्ण समाजको स्थापना गर्ने, दिगो तथा उत्थानशील पूर्वाधार विकास तथा अन्तर आबद्धता अभिवृद्धि गर्ने, हरित, कार्बन तटस्थ तथा जलवायु अनुकूलनका कार्य र स्वच्छता अभिवृद्धि गर्ने रहेका छन्।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive