पर्वत : विभिन्न सामाजिक कामहरूमा सक्रिय रहँदै आएको कुश्माको एकता क्लबले बिहादी गाउँपालिकाका विद्यार्थीहरूलाई पोसाक तथा शैक्षिक सामग्रीहरू सहयोग गरेको छ ।
“परिवर्तनका संवाहक युवा युवाको एकता आजको आवश्यकता“ भन्ने नाराका साथ २०६४ सालमा स्थापना गरिएको क्लबले बिहादी गाउँपालिका–६ शालिग्राममा अवस्थित शिला आधारभूत विद्यालयमा अध्ययनरत ६४ जना विद्यार्थीलाई सहयोग गरेको हो । क्लबका अध्यक्ष कवीन्द्र के.सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि फलेबास नगरपालिका–४ मुडिकुवाका वडाध्यक्ष, फलेवास नगरपालिकाका प्रवक्ता, नेपाली काँग्रेस पर्वतका जिल्ला कार्यसमितिका सहसचिव तथा क्लबका पूर्व अध्यक्ष अच्युत तिवारी रहनुभएको थियो ।
कार्यक्रममा वाहाकी मा.विका. शिक्षक नवीन कुमार क्षेत्री, शालिग्राम मा.वि. प्रधानाध्यापक जोग बहादुर सोनी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय कुमार क्षेत्री, प्रदेश अस्पताल पर्वतको व्यवस्थापन समितिका अध्यक्ष याम परियार तथा धौलागिरि लघुवित्त संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शिवराम जोशी लगायतले शुभकामना मन्तव्य राख्नुभयो । क्लबका सल्लाहकार, पूर्व सचिव, क्लबका सदस्यहरू लगायत विभिन्न प्रमुख तथा प्रतिनिधि, आमा समूह, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको सहभागिता रहेको थियो ।
कार्यक्रम सफल बनाउन आर्थिक सहयोग गरेका धौलागिरि लघुवित्त संस्था, क्लबका पूर्व अध्यक्ष, सदस्य तथा क्लब शुभचिन्तकमा क्लबले आभार व्यक्त गरेको छ । शिक्षक राम बहादुर बि.क.को स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन क्लबका सचिव अर्जुनराज पुरीले गर्नुभएको थियो ।




