शुक्र, साउन ८, २०८३
Fri, July 24, 2026

बालबालिकामा संस्कार र सामाजिक सेवा भावको विकास गर्ने प्रयासमा प्रगति संस्कार

साउन ८, २०८३

पर्वत : केही महिना अगाडि गुन्द्री बुन्न सिकेका बालबालिकाहरू बिहीबार सदरमुकाम कुश्मा बजारको प्रगति चोकमा थिए। उनीहरूका हातमा सेतो रङ, डोरी, ‘ब्रस’ लगायतका सामग्रीहरू थिए । केही बेर भेलामा बसेर जीवनमा नैतिक शिक्षा र व्यवहारको बारेमा सुने । समाजप्रति नागरिकको उत्तरदायित्वको बारेमा पनि छलफल गरेका उनीहरूले समाजमा बालबालिकाले गर्न सक्ने योगदानको बारेमा जान्ने मौका पाए ।
भेला चलिरहेकै बेलामा कुश्मा नगरपालिका–६ का वडाध्यक्ष ईश्वर गिरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब निरीक्षक प्रवीण भट्टराई लगायतका व्यक्तिहरू आएपछि बालबालिकाहरू सडकमा निस्किए । ट्राफिक प्रहरीबाट ‘जेब्रा क्रसिङ’ ले कसरी दुर्घटना न्यूनीकरणमा सहयोग गर्छ ? र पैदल यात्रुलाई सहज बनाउँछ ? भन्ने कुरा सुनेपछि उनीहरू आफै कुश्माको प्रगतिचोकमा ‘जेब्रा क्रसिङ’ निर्माणमा लागे ।
ट्राफिक प्रहरीको समन्वयमा उनीहरू आफै सेता पाटा बनाउन कस्सिए । अरूले गरेको कामको तुलनामा आफ्नै हातले गरेको कामको महत्त्व बढी हुने भएकोले आफूहरूले नै सडकमा रङ पोत्ने सुनाउँदा उनीहरूका अभिभावकहरू पनि मक्ख थिए । बालबालिकाहरूले सवारीको गति सीमित गर्ने सूचना लेखिएको ‘बोर्ड’ पनि सडकमा राखे ।
बालबालिकाहरूमा नैतिक शिक्षा र संस्कारको विकास गर्दै ‘डिजिटल’ लतलाई न्यूनीकरण गर्न स्थापित प्रगति संस्कार बाल क्लबको अगुवाइमा बालबालिकाहरूले यस्तै सामाजिक कामहरू गर्दै आइरहेका छन् । जिल्ला ट्राफिक कार्यालय र वडा कार्यालयसँगको समन्वयमा ‘जेब्रा क्रसिङ’ निर्माण गरिएको हो । जसमा हिमचुली डिजिटलका सुरेस रेग्मी, मुम्बई टेलरिङका विकास श्रेष्ठ र अभिनेता तथा सर्जक शंकर लामिछानेले पनि सहयोग गरे ।
‘स्मार्ट फोन’ को लतमा परेर तथा नैतिक शिक्षाको अभावमा बालबालिकाहरूमा हराउँदै गएको संस्कारको संरक्षण गर्न क्लबले परम्परागत र आधुनिक सीप सिकाउने गरेको छ । उनीहरूलाई बेला बेलामा सामाजिक क्रियाकलापहरूमा सहभागी गराउँदा कोठामा गुम्सिएर बस्दै ‘मोबाइल गेम’ को लतमा रहनुभन्दा रचनात्मक हुने भएकोले क्लबले यस्तै कामहरू गर्दै आइरहेको क्लबकी संरक्षक तथा शिक्षक रश्मि गौतमले बताइन् । मौलिक कला, संस्कार, संस्कृति र परम्पराको रक्षा गर्न चार वर्ष अगाडिबाट सक्रिय रहेको क्लबले बालबालिकाहरूलाई मनोवैज्ञानिक रूपमा ऊर्जा दिने गरेको छ ।
‘फेला पारे मोबाइलमा झुन्डिने अहिलेको अवस्थाबाट बाबुनानीहरुलाई सुरक्षित राख्न क्लबका कामहरू निकै रचनात्मक छन् । उत्साह र सिकाइको रमाइलो वातावरणबिच उनीहरूले आपसी झगडा बिर्सिए, मोबाइलका गेम पनि बिर्सिए’, वडाध्यक्ष ईश्वर गिरी भन्छन्, ‘अहिले उनीहरूमा जस्तो धारणा बसाउन सकियो भोलि त्यही नै विकसित हुने हो । आज जस्तो संस्कार सिकाइन्छ भोली त्यही नतिजा पाइने हो ।’
वि.सं. २०७८ सालबाट बालबालिकाहरू विकास र उत्प्रेरणामा विभिन्न कामहरू गर्दै आएको क्लब २०८० सालमा कुश्मा नगरपालिकामा दर्ता भयो । क्लबमा कुश्मा बजारका विभिन्न विद्यालयका करिब ५० जना बालबालिकाहरू आबद्ध छन् । बालबालिकाहरूको शारीरिक, मानसिक सहित सर्वाङ्गीण विकासका लागि क्लबले काम गरिरहेको संरक्षक गौतम बताउँछिन् । बालबालिकाहरूमा हराउँदै गएको संस्कार, सीप र मिलनसार भावनालाई जागृत बनाइराख्ने उद्देश्यले क्लबको स्थापना भएको हो ।
आफूले सोचेको सामान्य कुरा नै पूरा नहुँदा बालबालिकाहरू एकोहोरिने, गलत निर्णय लिने, सूचना प्रविधिका आधुनिक उपकरणको प्रयोगबाट नराम्रा खबर तथा उपायको पहुँचमा पुग्ने, अभिभावक र शिक्षकहरुले सामान्य सम्झाउँदा पनि गलत रूपमा बुझ्ने बानीको विकास बालबालिकाहरूमा हुँदै गइरहेको छ । यही प्रभावलाई कम गर्नका लागि क्लबको स्थापना गरिएको संरक्षक शिक्षक गौतम बताउँछिन् ।
क्लबमा आबद्ध बालबालिकाहरूले बिहान सबेरै उठ्ने, नित्य कर्म गर्ने, बाबाआमा तथा हजुरबुबा हजुरआमाप्रति नमन गर्ने, आफ्ना लुगा आफै धुने, मोबाइल फोनलाई मनोरञ्जनको भन्दा पनि अध्ययन सहयोगी सामग्रीको रूपमा प्रयोग गर्ने, साथीहरूको सुख र दुखमा सँगै हुने, आफूले पाएको पैसा बचत गर्ने र समस्यामा परेको व्यक्ति भएमा सक्दो सहयोग गर्ने लगायतका धेरै असल अभ्यासहरू सिकिरहेका उनको भनाइ छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive