शनि, साउन १६, २०८३
Sat, August 1, 2026

पर्वतमा ओरालो लाग्यो बाल मातृत्व, अघिल्लो बर्षको तुलनामा ४२ प्रतिशतले कमी

साउन १६, २०८३

पर्वत : नेपालमा २० वर्षभन्दा म उमेरमा विवाह गर्न नपाइने कानुनी व्यवस्था छ। जसले कानुनी रूपमा २० वर्षभन्दा कम उमेरमा मातृत्व हुन नदिन राज्यले अप्रत्यक्ष रूपमा संरक्षण गरेको छ। तर पनि २० वर्ष भन्दा सानो उमेरमा नै बच्चा जन्माउने बाल मातृत्व कायमै रहेको छ।
पर्वतको पछिल्ला तीन बर्षको तथ्याङ्क हेर्दा बाल मातृत्व दरमा भने सुधार भएको देखिएको छ। सुत्केरी हुन प्रदेश अस्पताल पर्वतमा पुगेका आमाहरूको तथ्याङ्क हेर्दा पछिल्ला तीन वर्षको अवधिमध्ये गत आर्थिक वर्षमा २० वर्षमुनिको उमेरमा आमा बन्नेहरूको सङ्ख्यामा कमी आएको छ।
अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीका अनुसार गत आर्थिक वर्ष २०८२/०८३ मा ३६ जनाले २० वर्ष भन्दा सानो उमेरमा बच्चा जन्माएका छन्। जसमा १४ जनाले दक्ष प्रसूतिकर्मीमार्फत र २२ जनाले दक्ष स्वास्थ्यकर्मीमार्फत बच्चा जन्माएका छन्। यही अवधिमा २० वर्ष वा सो भन्दा माथिको उमेर पार गरेपछि सुत्केरी भएकाको सङ्ख्या २४६ रहेको छ। सुत्केरी भएकामध्ये दुई जनामा लामो समयको प्रसव पिडा र एक जनामा पाठेघर च्यातिने समस्या भएको तथ्याङ्क छ।
यो भन्दा अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा २० वर्ष भन्दा कम उमेरमा बच्चा जन्माएका आमाहरूको सङ्ख्या ६२ रहेको छ। उनीहरू सात जनाले दक्ष प्रसूतिकर्मीमार्फत, ४९ जनाले दक्ष स्वास्थ्यकर्मीमार्फत र छ जनाले अन्य स्वास्थ्यकर्मीमार्फत बच्चा जन्माएका थिए। यही अवधिमा अस्पतालमा पुगेर बच्चा जन्माएका २० वर्ष वा सो भन्दा माथिको उमेरका आमाहरूको सङ्ख्या २४५ रहेको छ।
यस्तै आर्थिक वर्ष २०८०/०८१ मा प्रदेश अस्पतालमा पुगेर ४१ जनाले २० वर्षभन्दा सानो उमेरमा बच्चा जन्माएका थिए। १७ जनाले दक्ष प्रसूतिकर्मीमार्फत, १७ जनाले दक्ष स्वास्थ्यकर्मीमार्फत र सात जनाले अन्य स्वास्थ्यकर्मीमार्फत सेवा लिएका सूचना अधिकारी सुवेदीले बताए। सोही अवधिमा २० वर्ष भन्दा माथिको उमेरका २७३ जनाले बच्चा जन्माएका छन्। यीमध्येकी एक जनाले भने घरमा नै बच्चा जन्माएको तथ्याङ्क छ। यिनीहरूमध्ये छ जनामा लामो समयको प्रसूति व्यथा, तीन जनामा सुत्केरीपछिको अत्यधिक रक्तस्राव, तीन जनामा साल पूर्ण रूपमा ननिस्कने तथा एक जनामा सुत्केरीपछिको सङ्क्रमण समस्या देखिएको थियो।
आर्थिक वर्ष २०८०/०८१ को तुलनामा ०८१/०८२ मा २० वर्ष भन्दा कम उमेरमा बच्चा जन्माउने आमाहरूको सङ्ख्या बढी छ। सचेतना र शिक्षा तथा अन्य समस्याहरूको बारेमा जानकारीहरू जति नै फैलाए पनि २० वर्ष मुनि नै आमा बन्नेहरूको सङ्ख्या २१ जनाले बढ्यो। विकसित, शिक्षित र आधुनिक प्रभावले बाल मातृत्व घट्नुपर्ने भए पनि उक्त वर्षमा झन् ५१ प्रतिशतले वृद्धि भएको छ। तर गत आर्थिक वर्ष २०८२/०८३ मा भने अघिल्लो बर्षको तुलनामा ४२ प्रतिशत कम महिला २० बर्षको उमेरमा आमा बनेका छन्।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डिराज पौडेलले सघनन्यूजसँग कुरा गर्दै बाल मातृत्व घट्नु सकारात्मक सन्देश भए पनि यसलाई पूर्ण रूपमा शून्यमा झार्न अझै व्यापक सचेतनाको आवश्यकता रहेको बताए। ‘विगतका वर्षहरूको तुलनामा गत आर्थिक वर्षमा २० वर्षमुनिका आमाहरूको सङ्ख्यामा ४२ प्रतिशतले कमी आउनु निकै आशालाग्दो पक्ष हो। स्वास्थ्य संस्था र स्थानीय तहबाट चलाइएका सचेतनामूलक अभियान, किशोरी शिक्षा र चेतनाको स्तर वृद्धिले असर देखाउन थालेको छ’, उनले भने, ‘परिपक्व नभई आमा बन्दा लामो समय प्रसव पीडा हुने, पाठेघर च्यातिने र सुत्केरीपछिको अत्यधिक रक्तस्रावजस्ता जटिलताहरू निम्तिने जोखिम उच्च रहन्छ। त्यसैले कानुनी उमेर नपुगी विवाह नगर्न र मातृत्व धारण नगर्नका लागि समुदाय स्तरमै अझ सशक्त अभियान चलाउनुपर्छ।’

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive