अहिले बजारमा आँपको सिजन चलेको छ । हामी बजारबाट खान योग्य पाकेका आँप किनेर खाने गर्छौं । देशका विभिन्न ठाउँबाट आउने भिन्दाभिन्दै प्रजातिका आँपले काठमाडौंको बजार ढाकेको छ । तर यस्ता आँप उपभोगका लागि सुरक्षित छन् त ?
सामान्यतयाः हामीले खाने फलफूलहरु दुई प्रकारका हुन्छन् । एउटा बोटमै फलेपछि टिप्ने र अर्को काँचैमा टिपेर पकाउने खालको । बजारको लागि टाढा लैजानुपर्ने भएकोले आँप काँचैमा टिपेर पकाउने गरिन्छ । टाढा टाढासम्म लैजानुपर्ने भएकोले संसारभरि चल्ने कुरा हो ।
आँप लगायत फलफूल पकाउनको लागि विषादीको प्रयोग गरिँदैन । यद्यपि रोग फैलिन नदिनका लागि केही विषादीहरु प्रयोग हुन सक्छन् ।
फलफूल पकाउनको लागि रासायनिक विषादीभन्दा इथिलिङ नामक हर्मोनको प्रयोग गर्ने गरिन्छ । यसले गर्दा फलफूल छिटो पाक्ने गर्छ । इथिलिङ तोकिएको डोजमा प्रयोग गरियो भने यो मानव स्वास्थ्यको लागि खतरनाक हुँदैन । यो एक केमिकल हो । यसलाई विश्वका कुनै पनि प्रयोगशालाले विषादी मानेको छैन । तर यसको प्रयोग पनि निश्चित डोजभन्दा धेरै गरियो वा छिटो पकाउने होडमा धेरै मात्रा राखियो भने फेरि यो आफैँमा घातक हुन सक्छ ।
फलफूललाई छिटो पकाउनको लागि प्रयोग गरिने अर्को रसायन हो कार्बाइक । कार्बाइक इथिलिङभन्दा तुलनात्मक रुपमा बढी हानिकारक हुन्छ । यसलाई पनि इथिलिङको अर्को रुप मानिन्छ । यो एक किसिमको धुलो हो । यसको यति किलो आँपमा यति हाल्ने भन्ने हुन्छ । तर व्यापारीले छिटो पकाउने होडमा डोज बढाइदिन सक्छन् । त्यस्तो भयो भने यसले असर गर्छ । तर यति हुँदाहुँदै पनि विषादीले जस्तो यसले असर भने धेरै गर्दैन ।