पर्वत : ट्राफिक नियम उल्लघंनका कारण सवारी दुर्घटना बढ्न सक्ने भएकोले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले सवारीका चालकहरूलाई सडकमै प्रशिक्षण दिन सुरु गरेको छ।
बजारभित्र भिडभाड र साँघुरो सडकका कारण दुर्घटना कम हुने र भए पनि सामान्य हुने भए पनि ‘हाइ वे’ मा हुने दुर्घटनामा मान्छेको ज्यान नै जाने जोखिम बढी भएकाले पर्वत ट्राफिकले बजार र ‘हाइ वे’ मा सवारी चलाउँदै आएका सवारी चालकहरूलाई प्रशिक्षण कार्यक्रम सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेले बताए।
भदौ एक गतेबाट सुरु गरिएको यो कार्यक्रम अन्तर्गत पहिलो दिनमा मध्यपहाडी लोकमार्ग तथा मालढुङ्गा–बेनी सडक खण्डमा सवारी चलाइरहेका एक सय २५ जनालाई प्रशिक्षण दिइएको छ। मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–६ शिवालय चोकमा ४५ जना सवारी चालकहरूलाई, मोदी गाउँपालिका–६ डिमुवामा ५० जनालाई र मालढुङ्गा–बेनी सडक खण्ड अन्तर्गत जलजला गाउँपालिका–३ वारी बेनीमा ३० जना सवारी चालकहरूलाई सडक सुरक्षा सचेतना सम्बन्धी प्रशिक्षण दिइएको छ।
वर्षा कम भएको तथा चाडबाडहरू नजिकिँदै जाँदा सडकमा सवारीको चाप बढ्ने, क्षमता भन्दा बढी यात्रु राखेर सवारी सञ्चालन गर्ने, सवारीको भौतिक अवस्थामा ध्यान नदिई सञ्चालन गर्ने लगायतका गतिविधि बढ्ने भएकोले पनि सुरुमा ‘हाइ वे’ मा केन्द्रित भएर प्रशिक्षण सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख निउरे बताउँछन्।
‘सवारी साधनहरूका व्यावसायिक सवारी चालकहरूलाई सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगर्न, सवारी साधन चलाउँदा अनिवार्य रूपमा सिट बेल्ट लगाउन, मादक पदार्थ तथा नसाजन्य चिज वा बस्तुहरू सेवन नगर्न, तीव्र गतिमा सवारी साधन नचलाउन, सवारीको छत तथा ढोकामा झुण्डिएर यात्रा नगर्न, तोकिएको पोसाकको अनिवार्य रूपमा प्रयोग गर्न अनुरोध गरेका छौँ,’ उनले भने, ‘सडक सुरक्षा सचेतना व्यक्ति वा चालक स्वयंमा हुनुपर्छ। दुर्घटना भइसकेपछि पछुताउँदै रुनु भन्दा पहिले नै सुरक्षित हुन सके रुनुपर्ने अवस्था आउँदैन भनेर चालक स्वयंलाई साइकोलोजिकल्ली सेल्फ अवेयरनेसका लागि मोटीभेसन गर्ने काम यो प्रशिक्षणमा हुन्छ।’
दुर्घटना घटाउन सवारी चालकलाई सडकमै प्रशिक्षण
भदौ ४, २०७९
