बिहि, फाल्गुन २८, २०८२
Thu, March 12, 2026

मुखले बोलेर होइन, बजार सफा गरेर दसैँको शुभकामना

अशोज १४, २०७९

पर्वत : दसैँ होस वा दीपावली शुभकामना आदानप्रदान गर्नको लागि पार्टी प्यालेस वा स्तरीय होटेलका कोठा सजाएर नेताका प्रिय लाग्नेहरूलाई बोलाएर शुभकामना आदानप्रदान कार्यक्रम राखिएको हुन्छ। त्यसले आम नागरिकका लागि तात्त्विक फरक पार्दैन। आम नागरिकलाई होटेलमा राखिएका शुभकामना आदानप्रदान कार्यक्रममा बोलाए फलानो नेताले   मलाई सम्झियो भनेर मत तान्नका लागि बरु नेतालाई नै सहज हुने हो।
तर बिहीबार पर्वत सदरमुकाम कुश्मा बजारको दृश्य भने होटेल र सिँगारिएका ठाउँमा आयोजना गरिने शुभकामना आदानप्रदान कार्यक्रमलाई पाठ सिकाएको छ। कुश्मा नगरपालिकाले दसैँको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमलाई बजार सरसफाइ कार्यक्रमका रूपमा मनायो। नगरपालिकाको आयोजनामा भएको बजार सरसफाइ कार्यक्रममा प्रमुख जिल्ला अधिकारीदेखि आम नागरिक पनि सहभागी भए। उनीहरू बजारको धेरै क्षेत्रमा डुलेर आफैले फोहोर उठाए अनि सरसफाइमा सँगै लगिएको फोहोर उठाउने गाडीमा फोहोर जम्मा गरेर पठाइयो।

फोहोर संकलनका लागि नालीमा छिरेका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटा

बजार सरसफाइ कार्यक्रममा सरकारी कर्मचारीदेखि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधिहरू, आम नागरिक लगायतको उपस्थिति रहेको थियो। उनीहरूले कुश्मा बजार हुँदै जाने मध्यपहाडी लोकमार्गको छेउछाउमा रहेका फोहोरदेखि सवारीबाट फ्याँकिने फोहोर जम्मा गरे। नागरिकको दैलोमा पुगेर प्रमुख जिल्ला अधिकारी, नगर प्रमुख, उपप्रमुख लगायतले फोहोर जम्मा गरेको देख्दा घरवाला तथा भाडामा बस्दै आएकाहरूको मनले दर्शक बनेर उभिन मानेन। नगरपालिकाको अभियानमा सघाउँदै नागरिकले पनि आफ्नो वा आफू बस्दै आएको घर अगाडिको नाली सफा गरे, जम्मा भएको फोहोर नगरपालिकाको फोहोर उठाउने गाडीमा राखे।
‘कुनै ठाउँमा जम्मा भएर लौ दसैँको शुभकामना भनेर चिया पिएर फर्किनुभन्दा बजारको सरसफाइमा निस्किँदा बजार सफा हुने र यसको सन्देश पनि राम्रो जाने भएकाले फोहोर उठाउने कामलाई दसैँको शुभकामनाका रूपमा लियौँ,’ नगरप्रमुख रामचन्द्र जोशीले भने, ‘फोहोर उठाउने अभियानमा सबैको भेट भयो, फोहोर उठाउँदै ल हजुरलाई दसैँको शुभकामना भन्दै शुभकामना आदानप्रदान गरियो।’ जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी लगायत सहभागी भएर व्यक्तिको घरको अगाडि फोहोर उठाउन जाँदा नागरिक आफै पनि सरसफाइमा सहभागी हुँदा दसैँको बेलामा घर सिँगारेको जस्तै बजार सफा हुने उनको भनाई छ।

सफा बजारको लागि सडकमा भएको फोहोर टिप्दै कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङ

निर्वाचनको समय नजिकिँदै राजनीतिक दलहरूले चुनावी कार्यक्रमको आयोजना गरेर आफ्ना कुराको प्रचार गर्नुपर्ने अवस्था छ। यही बेलामा दसैँ तिहार पनि रहेकाले दसैँको अवसरलाई सदुपयोग गर्दै दल र जनप्रतिनिधिहरूले शुभकामना आदानप्रदान कार्यक्रम राखेर सानै भए पनि भेला गरिरहेका छन्। शुभकामना सँगसँगै चुनावी प्रचार हुने भएकाले पनि दसैँको अवसरमा रचनात्मक काम गर्नुमा भन्दा भेला भएर चिया पिउनुमा सक्रियता देख्ने गरिएको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive