बुध, पुस ३०, २०८२
Wed, January 14, 2026

बाढीले अवरुद्ध भयो पोखरा–बागलुङ सडक

अशोज १९, २०७९

पर्वत : मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा–बागलुङ सडक खण्ड बाढीका कारण अवरुद्ध भएको छ।
मंगलवारदेखि लगातार भइरहेको वर्षाका कारण बाढी आउँदा पर्वतको कुश्मा नगरपालिकामा पर्ने तमादी खोलामा सडकमा ढुंगासहितको लेदोले सडक नै पुरेपछि बुधवार बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका हवलदार वैकुण्ठ पौडेलले बताए।

बुधवार बिहानदेखि बाढीले ढुंगा, गेगर र माटो बगाएर सडकमा थुपारेपछि पर्वत सहित म्याग्दी र बागलुङबाट कुश्मा बजार हुँदै बाहिरिने तथा अन्य जिल्लाबाट ती जिल्लामा भित्रिने सवारीहरू सडकमा नै रोकिएका छन्।

बाटो पुनः सञ्चालनमा ल्याउनको लागि मध्यपहाडी लोकमार्गको एक्स्काभेटर प्रयोग गर्न लागिएको भए पनि वर्षा नरोकिएका कारण समस्या भइरहेको पौडेलको भनाइ छ।

‘बाटो पुनः सञ्चालनमा ल्याउनको लागि हामी समन्वय गरेर तयारी अवस्थामा रहेका छौँ। तर वर्षा निरन्तर भइरहेका कारण काम सुरु भएको छैन’, उनले भने, ‘वर्षा लगातार भइरहे सफा गरेको सडक फेरि पनि पुरिने अवस्था छ।’

तमादी खोलाको बाढीका कारण टीका थाप्नका लागि आउजाउ गर्नेहरू पर्वत सदरमुकाम कुश्मा बजारमा नै रोकिएको छन्। भित्रिन लागेका सवारीहरू कुश्मा नगरपालिका– ८ चुवामा रोकिएका छन्।

ट्राफिक प्रहरीका अनुसार बाढीका कारण सधैँ जसो समस्या हुने गरेको चुवाकै दोबिल्लामा पनि सडकमा ठुलो ढुंगा आएर बसेका कारण सवारीलाई ओहोरदोहोर गर्न समस्या भइरहेको छ। गत वर्ष नै बाढीका कारण क्षतविक्षत भएको ठाउँलाई एकतर्फी रूपमा सवारी आवतजावत गर्न सक्ने बनाइएको थियो। सोही ठाउँमा ढुंगा आएका कारण सवारीहरू एकतर्फी रूपमा कठिनाइका साथ वारपार गरिरहेका छन्।

दुवै ठाउँको अवरोध हटाउनको लागि आफूहरू तयारी अवस्थामा रहेको र टीका थाप्नका लागि सवारीमा आउजाउ गर्नेहरूलाई सकेसम्मको सहज अवस्था बनाउन प्रयास भइरहेको पनि ट्राफिक प्रहरी हवलदार पौडेलले बताए।

मंगलवार साँझदेखि भइरहेको वर्षा बुधवार बिहानसम्म पनि एकनासले भइरहेको छ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive