पर्वत : पर्वत जिल्ला बास्केटबल संघको आयोजनामा पर्वत सदरमुकाम कुश्मा बजारमा बास्केटबल प्रतियोगिता सुरु भएको छ।
विजयादशमी तथा दीपावली–२०७९ को अवसर पारेर पुन क्लबको मैदानमा प्रतियोगिताको शनिवारदेखि प्रतियोगिता सुरु गरिएको हो। प्रतियोगितामा बिजेता बन्ने समूहले नगद ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छ। यस्तै दोस्रो बन्ने समूहले नगद ३५ हजार सहित शिल्ड, मेडल र प्रमाण, तेस्रो बन्ने समूहले नगद २० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र तथा सान्त्वना बन्ने समूहले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने बास्केटबल संघ पर्वतका अध्यक्ष मिलन पाइजा पुनले बताए।
प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले राज्यले खेलको महत्व नबुझेका कारण नेपाली खेलाडीहरु अन्य देशका खेलाडीको तुलनामा कमजोर देखिएको बताए। अवसर पाउने हो भने नेपालका खेलाडीहरु अन्तराष्ट्रिय स्तरमा प्रस्पिर्धा गर्न सक्ने भए पनि अवसरको अभावमा उनीहरुले प्रतिभा देखाउन नसकेको उनको भनाई छ। जोशीले राज्यले विकास निर्माणमा मात्रै ध्यान नदिएर खेल सहितका अन्य क्षेत्रको विकासमा पनि केही गर्नुपर्ने बताए। प्रतिस्पर्धामा हार्नु भनेको खेल जीवनको अन्त्य नभई सुरुवात भएकाले हरेक हारबाट जित्न सक्छु भन्ने भावनाका साथ खेलाडीहरु प्रतिस्पर्धामा उत्रिनुपर्ने पनि नगरप्रमुख जोशीको भनाई छ।
पर्वतले हालै सम्पन्न भएको प्रतिस्पर्धामा गण्डकी प्रदेशका सबै जिल्लालाई उछिन्दै प्रथम भएकोमा खुसी व्यक्त गर्दै उनले बास्केटबलको विकासमा आफू सदैव तत्पर रहने उल्लेख गरे। गाउँमा हुने बास्केटबलका मैदानमा फाइबरको प्रयोग भइरहेको बेलामा कुश्मामा हुने खेलमा नदेखिएकाले आफूले नगरपालिकाको तर्फबाट सकेसम्म उपलब्ध गराउने प्रतिबद्धता पनि नगरप्रमुख जोशीले व्यक्त गरेका छन्।
यस्तै कुश्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजालले स्वास्थ्यका लागि खेलकुद अपरिहार्य रहेकाले कुश्मा नगरपालिकाले सकेसम्मको सहयोग गर्ने बताईन्। आफूले विद्यालय तहमा अध्ययन गर्दा बास्केटबल खेलप्रेमी रहेकाले पनि बास्केटबलको विकासमा आफूले पहल गर्ने उनको भनाई छ। जिल्ला बास्केटबल संघले प्रक्रिया सहित आएर नगरपालिकामा यसबारेमा कुरा गर्न पनि उपप्रमुख रिजालले अनुरोध गरिन्। अर्को प्रसङ्गमा बोल्दै उनले कुश्मा नगरपालिकाले विगतदेखि सञ्चालन गर्दै आएका कार्यक्रमहरु राम्रा भएमा निरन्तरता दिनुपर्ने र उपलब्धिमूलक नभएमा रोक्नुपर्ने बताईन्।
कार्यक्रममा बोल्दै नेपाल मगर संघका केन्द्रिय सदस्य सोम पुनले खेलाडीको क्षमता विकासमा स्थानीय तहहरुले आवश्यक ध्यान दिन अनुरोध गरे। पुन क्लबका अध्यक्ष कृष्ण बहादुर पुनले पर्वतका खेलाडीहरुले बास्केटबलको प्रदेश स्तरीय प्रतिस्पर्धामा पनि प्रथम स्थान हासिल गर्नु सबैको लागि गौरवको कुरा भएको बताउँदै खेलको विकासमा सबैको ध्यान जानुपर्ने सुझाव राखे। कार्यक्रमको उद्घाटन सत्रमा नेपाल मगर संघ पर्वतका अध्यक्ष गणेश पुन, नेपाल मगर महिला संघ पर्वतकी अध्यक्ष सरिना पुन, नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघ पर्वतका अध्यक्ष गुमबहादुर पुन, पुन क्लबका संस्थापक अध्यक्ष तथा नेपाल मगर संघ कुश्मा नगर कमिटीका अध्यक्ष जीवन पुन मगर, लगायतले पनि बोलेका थिए।
बास्केटबल संघ पर्वतका अध्यक्ष मिलन पाइजा पुनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संघका उपाध्यक्ष मीनबहादुर तिलिजा मगरले र सञ्चालन सुजन पुन मगरले गरेका थिए। संघका महासचिव लुक पुन मगरका अनुसार शनिवारसम्म पोखराको एक टोली र पर्वत ११ टोली गरी १२ समूहले प्रतिस्पर्धाका लागि नाम दर्ता गराएका छन्। आइतवार पनि इच्छुक समूहहरुलाई दर्ता गर्ने आयोजकले बताएको छ।
असोजको २६ गतेसम्म सञ्चालन हुने कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रमहरु पनि राखिएका छन्। हरेक दिन नृत्य र गायन सहितका विभिन्न कार्यक्रमहरु रहने बास्केटबल संघ पर्वतका सहसचिव यूवराज चोचाङ्गीले बताए।