पर्वत : प्रतिनिधिसभा र प्रदेशसभामा गरेर कुल २८ जना उम्मेदवारहरूको मनोनयन दर्ता भएको पर्वतमा २८ जना नै उम्मेदवारका रुपमा कायम भएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभामा एक जना र दुई वटा प्रदेश सभामा १/१ जना गरी कुल तीन जना उम्मेदवार निर्वाचित हुने पर्वतमा प्रतिनिधिसभामा १२ जनाको, प्रदेशसभा ‘क’ मा नौ जनाको र प्रदेशसभा ‘ख’ मा सात जनाको मनोनयन दर्ता भएको थियो।
उम्मेदवारी फिर्ताको लागि दिइएको समयमा कोही पनि उम्मेदवारहरूले मनोनयन फिर्ता नगरेपछि २८ जना नै आगामी निर्वाचनको लागि उम्मेदवार बनेका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका जालबहादुर पुर्जा पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका ठाकुरप्रसाद भुसाल, राष्ट्रिय जनमुक्ति पार्टीका बलबहादुर थापा, नेपाल सुशासन पार्टीकी भगवती पौडेल, नेकपा (एमाले) का पदम गिरी, नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशी, राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बहादुर मल्ल, मंगोल नेशनल अर्गनाइजेसनका चन्द्रबहादुर पाइजा पुन र नेपाली कांग्रेस (बि.पी) का देवाखर भट्टराईले प्रतिनिधिसभामा मनोनयन पत्र दर्ता गराएका छन्।
प्रतिनिधिसभामा नै स्वतन्त्र रूपमा सावित्री शर्मा, सीतादेवी शर्मा र अरुण पौडेल उम्मेदवार भएका छन्।
प्रदेश सभा ‘क’ मा मनोनयन दर्ता गराएकाहरूमा हाम्रो नेपाली पार्टीका रमेश पौडेल, नेकपा (एमाले) का भक्तबहादुर कुँवर, नेपाल सुशासन पार्टीका थम बहादुर क्षेत्री, नेकपा (माओवादी केन्द्र) का सुदीप कुँवर, राष्ट्रिय जनमुक्ति पार्टीकी सौभाग्य थापा पुन, मंगोल नेशनल अर्गनाइजेसनका शेरबहादुर पुर्जा पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेमकुमार गुरुङ र नेपाली कांग्रेस (बि.पी) का कमलराज पौडेल रहेका छन्।
प्रदेशसभा ‘क’ मा मायादेवी पौडेलले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन्।
यस्तै, प्रदेश सभा ‘ख’ मा दुईजना स्वतन्त्रसहित सात जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ। उनीहरू राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका बालकृष्ण पौडेल, हाम्रो नेपाली पार्टीका नारायण खत्री, नेकपा (एमाले) का मित्रलाल बस्याल, नेपाली कांग्रेसका ऋषिकेश तिवारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुनाथ उपाध्याय तथा स्वतन्त्रबाट वसन्त कुमार श्रेष्ठ र चन्द्र कुमारी मल्ल क्षेत्री रहेका छन्।
thahakhabar.com