पर्वत : आगामी मङ्सिर चार गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएकाहरुलाई निर्वाचन चिन्ह प्रदान गरिएको छ ।
बुधबार उम्मेदवारी फिर्ता लिने समयमा कसैको पनि उम्मेदवारी फिर्ता नभएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरेपछि उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको हो । राजनीतिक दलहरुबाट उम्मेदवार रहेकाहरुले आफ्नै चुनाव चिन्हबाट निर्वाचनमा जाने भए पनि स्वतन्त्र रुपमा उम्मेदवारी दिएकाहरुलाई सम्बन्धित जिल्लाबाट नै चिन्ह दिने गरिएको छ ।
सोही अनुसार प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका कुश्मा नगरपालिका–९ कटुवाचौपारीका अरुण पौडेललाई क्रस खुकुरी चिन्ह दिइको छ । प्रतिनिधि सभामा नै उम्मेदवारी दिएकी कुश्मा नगरपालिका–११ पकुवाकी सावित्री शर्मालाई डोजर र कुश्मा नगरपालिका–१२ ठूलीपोखरीकी सीता देवी शर्मालाई छत्रे टोपी चिन्ह दिइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।
यस्तै प्रदेश सभा ‘क’ मा स्वतन्त्र उम्मेदवार बनेकी मोदी गाउँपालिका–५ बाजुङ पातिचौरकी मायादेवी पौडेलले बिजुलीको चिम चुनाव चिन्ह पाएकी छिन् । तथा प्रदेश सभा ‘ख’ तर्फ दुई जनाको स्वतन्त्र उम्मेदवारी रहेको छ । उनीहरु महाशिला गाउँपालिका–४ का चन्द्र कुमारी मल्ल क्षेत्रीले अन्तराप तथा फलेवास नगरपालिका–६ देवीस्थानका बसन्त कुमार श्रेष्ठले जेब्रा चिन्ह पाएका छन् ।
यस्ता छन पर्वतका स्वतन्त्र उम्मेदवारका निर्वाचन चिन्ह
अशोज २७, २०७९




