पर्वत : अरिङ्गालको टोकाईबाट मृत्यू भएका पर्वतको कुश्मा नगरपालिका–१ पाङका श्रीराम परियारको परिवारलाई नगद ४१ हजार रुपैयाँ सहयोग गरिएको छ ।
ज्यालादारीमा काम गरेर परिवार पाल्दै आएका परियारको मृत्यूपछि परिवारको आर्थिक सङ्कट चुलिँदै गएकाले जापानमा रहँदै आएका नेपालीहरुले सङ्कलन गरेको रकम पिडित परिवारलाई हस्तान्तरण गरिएको आर्थिक सहयोग अभियान सञ्चालन गरेको पाङ यूवा क्लबका अध्यक्ष जयराम सुवेदीले बताए।
जापानमा रहँदै आएका जीवन अधिकारी र बालकृष्ण रिजाल लगायतका समाजसेवीहरुको पहलमा उठेको ४१ हजार रुपैयाँ श्रीरामका श्रीमतीहरुलाई हस्तान्तरण गरिएको हो। जापानमा सङ्कलन गर्दा ४५ हजार रुपैयाँ भएको भए पनि सटही गर्दा ४१ हजारमा झरेको रकम परिवारलाई दिइएको हो।
गत साउन १२ गते अरिङ्गालले चिलेर ३४ वर्षिय श्रीराम परियारको उपचारको क्रममा मृत्यु भएपछि उनका दुई श्रीमती र छ जना बालबालिकाहरू आर्थिक समस्यामा पर्दै आएका छन्। दैनिक मजदुरीको भरमा धानिँदै आएको नौ जनाको परिवारको मुख्य आम्दानीकर्ता श्रीरामको निधन भएपछि किरिया खर्च जुटाउन समेत परिवार असमर्थ बनेको थियो।
३४ वर्षिय बाबुलाई गुमाउनुको पीडा त्यसमाथि घरमा खानाका लागि अन्न समेत नभएको अवस्थामा दुईदेखि दश वर्ष उमेरसम्मका दुई छोरा र चार छोरीहरूको बिचल्ली भएपछि स्थानीय पाङ युवा क्लबले ‘आर्थिक सहयोग सङ्कलन अभियान’ सञ्चालन गरेको थियो। उक्त अभियानमा गाउँमै रहेका श्रीरामका छिमेकी, आसपासका गाउँ, वैदेशिक रोजगारीको सिलसिलामा देश बाहिर रहेका तथा देशकै विभिन्न स्थानमा रहेका चिनजानका व्यक्तिहरूलाई आर्थिक सहयोगका लागि अपिल गरिएको थियो। श्रीरामका दुई श्रीमती फूलमाया नेपाली र नैनाकला दर्जीले आफूहरूको आर्थिक अवस्था कमजोर रहेको र मजदुरी नगरेसम्म छाक टार्न नसक्ने अवस्थामा रहेकाले बालबालिकाहरूलाई पाल्न नै समस्या भएको बताएका छन्।