बिहिबार, माघ २४, २०८१
Thursday, February 6, 2025

६१ औँ वार्षिकोत्सवको अवसरमा शुभकल्याणमा हाजिरीजवाफ र कम्प्युटर टाइपिङ

पर्वत : जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरमा रहेको शुभकल्याण आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालयको ६१ औँ वार्षिकोत्सवको अवसर पारेर कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरु सहभागी गराएर कुश्मा नगरपालिकाभित्रका विद्यालयहरुबिच प्रतिस्पर्धा गराइएको हो । प्रतियोगितामा आयोजक शुभकल्याण आधारभूत विद्यालय पहिलो, सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालय दोस्रो, चुवाको मंगलोदय माध्यमिक विद्यालय तेस्रो तथा कुश्मा बजारमा रहेका आदर्श अङ्ग्रेजी आवासिय माध्यमिक विद्यालय र नमूना आवासिय माध्यमिक विद्यालय सान्त्वना स्थानमा आएका छन् । उनीहरुले पुरस्कार स्वरुप क्रमशः ५ हजार, ४ हजार, ३ हजार र १५ सय रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा कालीगण्डकी एकेडेमी, वीरेन्द्र माध्यमिक विद्यालय, त्रिभुवन आधारभूत विद्यालय, नुवार सुवेदीथर माध्यमिक विद्यालय, जनक माध्यमिक विद्यालय र पञ्चकोशी माध्यमिक विद्यालयले पनि भाग लिएका थिए ।
प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै आर्थरका वडाध्यक्ष रुद्रमोहन रिमालले शिक्षामा गुणस्तर कायम गर्नका लागि वडाकातर्फबाट आवश्यक कामहरु निरन्तर रुपमा गरिरहेको बताए । देशका लागि आवश्यक पर्ने जनशक्ति तयार पार्ने काम शिक्षाले गर्ने भएकाले शिक्षाको विकास नभएसम्म अरु क्षेत्रको पनि विकास नहुने उनको भनाई छ । बाल्यकालमा आफैले अध्ययन गरेको विद्यालयले ६१ औँ वार्षिकोत्सव मनाउनु खुसीको कुरा भएको बताउँदै उनले विद्यालयलाई वडाकातर्फबाट आवश्यक सहयोग गरिने प्रतिबद्धता उनले व्यक्त गरेका छन ।
कुश्मा नगरपालिकाको शिक्षा शाखाका अधिकृत दीपक सुवेदीले ग्रामिण क्षेत्रमा रहेको विद्यालयले वार्षिकोत्सवको अवसरमा हरेक वर्ष नगर स्तरीय हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गर्दै आएकोमा खुसी व्यक्त गरे । हाजिरीजवाफले विद्यार्थीहरुलाई गहन अध्ययनका लागि प्रेरणा दिनुका साथै प्रतिस्पर्धी भावनाको पनि निर्माण गर्ने भएकाले कार्यक्रम उपयोगी रहेको बताए ।
विद्यालयका प्रधानाध्यापक सुरेन्द्र शर्मा गौतमका अनुसार विद्यालयले पछिल्ला ११ वर्षदेखि हरेक वर्ष हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ । ग्रामिण क्षेत्रमा रहेको भए पनि कुश्मा नगरपालिका, वडा कार्यालय, नगरभित्रका बिभिन्न विद्यालय, चन्दादाता र सहयागीको बलको आधारमा कार्यक्रमहरु सञ्चालन गर्न सकिएको उनको भनाई छ । आफूहरुले शैक्षिक सुधारका लागि बिभिन्न कार्यक्रमहरु सञ्चालन गरीरहेको र विद्यार्थीको सिकाई उपलब्धिले पनि त्यसलाई पुष्टी गरेको प्रधानाध्यापक गौतम बताउँछन् ।
सोही अवसर पारेर कुश्मा नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुबिच कम्प्युटर टाईपिङ प्रतियोगिता पनि सम्पन्न भएको छ ।
विभिन्न विद्यालयका शिक्षकहरुले प्रतिस्पर्धा गर्दा सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयमा कार्यरत शिक्षक संजय रेग्मी बिजेता बनेका छन् । तोकिएको फन्ट र साइजमा आयोजकले दिएकै शब्दमा नेपाली र अङ्ग्रेजी भाषामा टाइप गर्न लगाइएको थियो ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive