पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको नारयण माध्यमिक विद्यालयका शिक्षक शुभन्तनाथ सुवेदीले आफ्नो जन्मदिनको अवसर पारेर विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।
सोमबार परेको जन्मदिनको अवसरमा आफू कार्यरत रहेकै विद्यालयका गरिब तथा जेहेन्दार १३ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरिएको हो । अध्ययनमा मिहिनेती भए पनि घरको आर्थिक अवस्थाका कारण अध्ययनमा समस्या भोगेका तथा अध्ययनमा लगनशील रहेका विद्यार्थीहरुको लागि बिभिन्न स्टेशनरी सामग्रीहरु उनले सहयोग गरेका हुन् ।
लायन्स क्लब अफ पर्वत गुप्तेश्वरका सचिव समेत रहेका शिक्षक सुवेदीले शैक्षिक सामग्री वितरण गर्ने समारोहमा क्लबका पदाधिकारीको पनि उपस्थिति रहेको थियो । सोही अवसरमा बोल्दै लायन्स क्लब ईन्टरनेशनल डिष्टीक ३२५ बी आई की सिनियर एडभाइजर मुना शर्मा लामिछानेले सामाजिक सेवाका क्षेत्रमा सक्रिय रहेका व्यक्तिले जन्मदिनको अवसरमा बिद्यार्थीलाई सहयोग गर्नु प्रशंसनीय रहेको बताईन । जन्मदिनको अवसरमा अनावश्यक खर्च गर्नुभन्दा कसैको दैनिकीलाई सघाउने कुरामा खर्च गर्नुको अर्थ रहने उनको भनाई छ ।
विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद पोखरेलले सदरमुकामको विद्यालयमा सहयोगदाता कम आउने गरेको भए पनि लायन्स क्लब अफ गुप्तेश्वरले आफ्नो विद्यालयलाई छनोट गरेकोमा खुसी व्यक्त गरे । सदरमुकाममा विद्यालयमा अध्ययनरत धेरै बिद्यार्थीहरुको आर्थिक अवस्था निकै दयनीय रहेकोले उनीहरुको अध्ययनमा सघाएकोमा शिक्षक सुवेदीप्रति आभार प्रकट गरे ।
जन्मदिनको अवसरमा रमाईला वा फजुल खर्च गर्ने अहिलेको प्रचलनको अन्तय गर्न उदाहरण मिलोस भनेर आफूले जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गरेको शिक्षक शुभन्तनाथ सुवेदी बताउँछन् । लायन्स क्लबमा आबद्ध हुनुको अर्थ नै सामाजिक सेवामा केही न केही योगदान गर्छु भन्ने रहेकाले आफूले बिगतदेखि नै बिभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आइरहेको उनको भनाई छ।
कार्यक्रममा क्लबका तर्फबाट तृतिय उपाध्यक्ष गणेश पौडेल, कोषाध्यक्ष आशिष पौडेल सहित विद्यालयका शिक्षक र विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो । क्लबका अध्यक्ष डाँसीराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष आशिष पौडेलले गरेका थिए ।
बुधबार, अशोज २, २०८१
Wednesday, September 18, 2024