शनिबार, साउन ५, २०८१
Saturday, July 20, 2024

मुटुको समस्याग्रस्त मनोजको शल्यक्रिया गर्न प्रवासीबाट ११ लाख बढी सहयोग

पर्वत : मुटुमा समस्या देखिपछि शल्यक्रिया गर्नुपर्ने अवस्थामा रहेका जिल्लाको जलजला गाउँपालिका–८ नाग्लीवाङका मनोज रेग्मीलाई आर्थिक सहयोग गर्ने अभियान सुरु भएको छ ।
नाग्लीवाङको लुप्राङ स्थित आरुकटेरा घर भई जनकल्याण माध्यीमक विद्यालयको कक्षा ८ मा अध्ययनरत १४ वर्षिय रेग्मीको घरको आर्थिक अवस्था दयनीय रहेको उपचारमा समस्या देखिएको छ । शहीद गंगालाल हृदयरोग अस्पताल काठमाण्डौँको सल्लाह अनुसार यही माघ २३ गते मनोजको मुटुको शल्यक्रिया गर्न लागिएको छ । नाग्लीवाङका वडाध्यक्ष हरिविकास जि.सी. का अनुसार मनोजको घरको आर्थिक अवस्था कमजोर रहेका कारण परिवारको खर्चले मात्रै शल्यक्रिया गर्न असम्भव देखिएको छ ।
उनका परिवारका सदस्य, आफन्तदेखि वडाले पनि मनोजमा देखिएको रोगको निदानको लागि आर्थिक सहयोग गर्न सबैमा अनुरोध गर्दै आएका छन् । वडाध्यक्ष जि.सी.का अनुसार उनको उपचारको लागि देशभित्र र बाहिरबाट सहयोग अभियानहरु चलिरहेका छन् । यस क्रममा अहिलेसम्म ११ लाख ३१ हजार नौ सय ३६ रुपैयाँ विदेशमा रहेका नेपालीहरुबाट प्राप्त भएको छ ।
रोजगारीको शिलशिलामा हाल अमेरिकामा रहँदै आएका खिम बहादुर रेग्मीको पहलमा सङ्कलन भएको तीन लाख बाह्र हजार पाँच सय २० रुपैयाँ वडाध्यक्ष सहितको उपस्थितिमा मनोजकी आमा माया रेग्मीलाई हस्तान्तरण गरिएको छ । मनोजको उपचारको लागि रोजगारीको शिलशिलामा जापान रहँदै आएका गाउँले तथा बाहिरका व्यक्तिहरुले तीन लाख एक हजार पाँच सय रुपैयाँ सहयोग गरेका छन् । जापानमा रहेका कुल रेग्मी, कमल रेग्मी, दीपक रेग्मी र प्रकाश श्रेष्ठले आर्थिक सहयोगका लागि अभियान चलाएका थिए ।
रोजगारीको शिलशिलामा हाल बेल्जियममा रहँदै आएका किसान चापागाईँ, झलक के.सी, महेन्द्र रोका, कृष्ण सगुन क्षेत्री, खड्क बहादुर के.सी, कुल जि.सी, ध्रुव रेग्मी लगायतका सहयोगीहरुको पहलमा दुई लाख ६१ हजार एक सय ५३ रुपैयाँ सङ्कलन भएको छ। उक्त रकम पनि मनोजको परिवारलाई हस्तान्तरण गरिएको छ ।
रोजगारीकै शिलशिलमा हाल लन्डनमा रहेका सन्दिप रेग्मी लगायतका सहयोगीहरुको पहलमा ६६ हजार चार सय ५३ रुपैयाँ सङ्कलन भएको छ । यस्तै रोजगारीकै सिलसिलामा हाल पोर्चुगलमा रहेका नाग्लीवाङबासीको पहलमा एक लाख ४४ हजार आठ सय ५९, स्वीट्जरल्याण्डबाट १० हजार र जिवन्धर रेग्मीबाट ३३ हजार चार सय ८१ रुपैयाँ सङ्कलन भएको छ । उक्त रकम पनि मनोजकी आमा मायालाई हस्तान्तरण गरिसकिएको वडाध्यक्ष जि.सीले बताए । मनोजको उपचारमा अझै धेरै खर्च लाग्ने भएकाले सहयोगका लागि सबैसँग अनुरोध गरिएको उनको भनाई छ ।
‘मनोजको उपचारको लागि धेरै खर्च लाग्ने भएकाले आर्थिक सहयोगका लागि सबैसँग अनुरोध गरिरहेका छौँ । कोहीलाई बचाउनको लागि हामीले थोरै थोरै सहयोग गर्दा पनि सम्भव छ भने किन नगर्नु?’, उनले भने, ‘रोजगारीका लागि विदेशमा रहेका नेपालीहरुबाट सहयोग आउने क्रम जारी रहेको छ । जिल्लामा वा देशभित्रै रहेका अन्य सबैमा पनि सहयोगका लागि अपिल गर्दछौँ ।’
मनोजको उपचारको लागि सक्रियताका साथ लाग्दै आएका वडाध्यक्ष जि.सी सामाजिक सेवामा सक्रिय रहँदै आएका छन् । कोभिड–१९ महामारीको बेलामा पनि वडाका तर्फबाट सञ्चालन गरेको अभियानले एम्बुलेन्स सहित अक्सिजनका उपकरणहरु किनिएको थियो । नाग्लीवाङ घर भई वैदेशिक रोजगारीको शिलशिलामा विभिन्न देशमा रहेकाहरुलाई गरेको अनुरोधपछि करिब २० लाख रुपैयाँ सङ्कलन भएको थियो । उक्त रकमबाट जलजला गाउँपालिकामा नै पहिलो पटक नाग्लीवाङमा एम्बुलेन्स भित्रिएको थियो । १२ लाखको लगानीमा एम्बुलेन्स र ८ लाखको लगानीमा अक्सिजन उपकरणहरु खरीद गरिएका थिए । नाग्लीवाङमा मात्रै सिमित रहेको उक्त एम्बुलेन्सलाई हाल गाउँपालिकाभित्रका सबै वडाहरुले उपयोग गर्न सक्ने गरी गाउँपालिकाकोतर्फबाट सञ्चालनमा राखिएको गाउँपालिकाका प्रवक्ता समेत रहेका जि.सी.ले बताए ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive