पर्वत : सातौँ पर्वत महोत्सवको अवसरमा आयोजना गरिएको विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालय बिजेता बनेको छ ।
नृत्यमा अब्बल रहेका बिभिन्न १२ वटा विद्यालयका प्रतिस्पर्धीहरुले भाग लिएकोमा नारायण मा.वि.को समूहले जीत हासिल गरेको हो । प्रतियोगितामा कुश्मा बजारमै रहेको नमूना अङ्ग्रेजी आवासिय माध्यमिक विद्यालय दोस्रो, खुर्कोटमा रहेको हिमालय माध्यमिक विद्यालय तेस्रो र कुश्माकै आदर्श अङ्ग्रेजी आवासिय माध्यमिक विद्यालय सान्त्वना बनेका छन् ।
प्रतियोगितामा जनता सुदर्शन मा.वि. ठूलीपोखरी, राम मा.वि शंकरपोखरी, कालीगण्डकी एकेडेमी कुश्मा, कालिका मा.वि. खुर्कोट, पर्वत गुरुकुल एकेडेमी, पूर्णेश्वर मा.वि वितलब, शहिद स्मारक अङ्ग्रेजी आवासिय मा.वि कुश्मा र आईबल एकेडेमी कटुवाचौपारीले पनि सहभागिता जनाएका थिए ।
नृत्य प्रतियोगिताका संयोजक विनोद आचार्यका अनुसार प्रतियोगितामा प्रथम बनेको नारायण मा.वि.को समूहले नगद १२ हजार रुपैयाँ सहित प्रमाण पत्र प्राप्त गर्ने छ । यस्तै दोस्रो र तेस्रो स्थानमा रहेका नमूना आवासिय मा.वि र हिमालय मा.वि.ले क्रमश आठ हजार र चार हजार रुपैयाँ सहित प्रमाणपत्र पाउने छन् । सान्त्वना स्थानमा आएको आदर्श अङ्ग्रेजी आवासिय मा.वि.ले पनि आकर्षक पुरस्कार पाउने छ ।
महोत्सवको समापनका लागि यही माघ २१ गते आयोजना गरिने औपचारिक कार्यक्रममा यी पुरस्कारहरु वितरण गरिने पनि लोकनृत्य संयोजक आचार्यले बताए ।