पर्वत : जिल्लाको मोदी गाउँपालिकाले विपन्न महिला र दलितहरूका लागि लोकसेवा आयोगको तयारीका लागि निःशुल्क कक्षा सञ्चालन गर्ने भएको छ।
आर्थिक वर्ष २०७९।८० को विशेष अनुदानअन्तर्गतको वार्षिक कार्यक्रमअनुसार आर्थिक र सामाजिक रूपमा विपन्न रहेका महिला र दलितको अवस्थामा सुधार ल्याउने उद्देश्यले यो कार्यक्रम राखिएको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतमले सामाजिक र आर्थिक रूपमा पछाडि परेकाहरू अवसरको अभावमा सधैँ पछाडि नै रहने गरेका र त्यसो हुन नदिनकै लागि निःशुल्क कक्षा सञ्चालन गर्न लागिएको बताए।
‘पछाडि परेको मान्छेले अवसर पाएन भने ऊ झन् झन् पछाडि पर्दै जान्छ। सामाजिक र आर्थिक रूपमा कमजोर रहेका व्यक्ति अवसरको आशामा हुन्छन्। अवसर पाएमा उनीहरू पनि अरू जस्तै मूलधारमा आउन सक्छन्’‚ प्रमुख प्रशासकीय अधिकृत गौतम भन्छन्, ‘लोकसेवा आयोगमा प्रतिस्पर्धा चर्को छ। राम्रो तयारी गरेर परीक्षा दिँदा सफल हुन सकिन्छ। कम्तीमा हामीले दिने कक्षाबाट लोकसेवाको भोक जागोस्। प्रक्रियाको बारेमा थाहा होस् भन्ने पनि हो।’
राजपत्र अंकित प्रथम (नायव सुब्बा), द्वितीय श्रेणी (खरिदार), सहायक स्तर पाँचौँ र चौथो तह अप्राविधिक पदका लागि अनलाइनमार्फत कक्षा सञ्चालन गर्न लागिएको हो।
तालिममा सहभागी हुन प्रवीणता प्रमाणपत्र तह, कक्षा १२ वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने, १८ वर्ष पूरा भई ४० वर्षभित्रको उमेर भएको हुनुपर्ने, दलित पुरुषको हकमा ३५ वर्ष पार गरेको हुन नहुने र मोदी गाउँपालिकाको स्थायी बासिन्दा भएको हुनुपर्ने भनिएको छ।
माघको २३ गतेसम्म इच्छुकहरूबाट दरखास्त लिएपछि सहभागीको संख्याअनुसार ‘अनलाइन प्लाटफर्म’सँग कुराकानी गरेर समय र अवधिको बारेमा टुङ्गो लाग्ने छ। लक्षित वर्गका लागि विशेष अनुदानमा गाउँपालिकाका लागि आएको ५० लाख रुपैयाँमध्येको एउटा कार्यक्रम यो रहेको बताउँदै गाउँपालिकाका प्रशासकीय अधिकृत प्रवीण पोख्रेलले आवेदन दिएका लक्षित समूहका कोही पनि तालिमबाट नछुट्ने बताए।
यो कार्यक्रमको उद्देश्य नै लक्षित वर्गमा रहेकाले आवेदन परेकाहरूलाई तालिम दिनका तालिम प्रदायक संस्थासँग सम्झौता गरेर आवेदकहरूको शुल्क गाउँपालिकाले तिरिदिने पोख्रेलको भनाइ छ।