मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026

जलजला : सरकारी जागिर नखाएकालाई शिक्षक र लोक सेवा आयोगको तयारी गराउने

माघ २१, २०७९

पर्वत : सरकारी सेवामा प्रवेश नगरेकाहरूलाई लक्षित गरेर जिल्लाको जलजला गाउँपालिकाले शिक्षक सेवा आयोग र लोक सेवा आयोगका कक्षा सञ्चालन गर्ने भएको छ।
गाउँपालिकाको आर्थिक वर्ष २०७९÷०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार सरकारी सेवा भन्दा बाहिर रहेका व्यक्तिहरू मात्रै सहभागी हुन पाउने गरी निःशुल्क रूपमा कक्षा सञ्चालन गर्न लागिएको हो। गाउँपालिकाका अध्यक्ष राजु आचार्यका अनुसार लोक सेवा आयोगतर्फ राजपत्र अनङ्कित प्रथम र द्वितीय श्रेणीको नायव सुब्बा तथा खरिदार, सहायक पाँचौँ र चौथो तह तथा अप्राविधिक पदमा प्रवेश गर्न चाहानेहरुलाई  कक्षा सञ्चालन गरिने छ।
यस्तै शिक्षक सेवा आयोगको तयारीका लागि निम्न माध्यमिक र प्राथमिक तहका लागि कक्षा सञ्चालन गरिने गाउँपालिकाकाले बताएको छ। स्थानीय तहहरूले वार्षिक स्वीकृत कार्यक्रमको यो रकमबाट लोक सेवा आयोगका तयारी कक्षाहरू सञ्चालन गर्दै आएको भए पनि जलजला गाउँपालिकाले भने जिल्लामा नै पहिलो पटक शिक्षक सेवा आयोगका लागि पनि कक्षा सञ्चालन गर्ने भएको हो।
‘लोक सेवाका लागि मात्रै कक्षा किन दिनु? यसले त अरू भन्दा निजामती क्षेत्रमा जानुपर्छ भन्ने सन्देश दिन्छ। नागरिक हरेक प्रकारका सरकारी सेवामा प्रवेश गर्नुपर्छ। लोक सेवाको मात्रै कक्षा दिनु भनेको लोक सेवामा जाऊ, शिक्षक सेवा नजाऊ भनेको जस्तो हुन्छ’ अध्यक्ष आचार्यले भने, ‘फेरि कोहीलाई लोक सेवामा जान्न शिक्षक सेवामा जान्छु भन्ने पनि त हुन्छ। गाउँपालिकाका कार्यक्रमहरूबाट सकेसम्म धेरै जना लाभान्वित हुनुभयो भने पालिकालाई समृद्ध बनाउन सहज हुन्छ।’
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुशल सुवेदीका अनुसार यी दुवै प्रकारका सेवामा प्रवेश गर्नका लागि योग्यता पुगेका गाउँपालिकावासी मात्रै तयारी कक्षामा सहभागी हुन पाउने छन्। इच्छुक व्यक्तिहरूले सूचना प्रकाशन भएको सात दिनभित्र दरखास्त दिन भनिएको छ।
लोक सेवा आयोगतर्फको पाँचौँ तहका लागि कक्षा १२ वा सो सरह र चौथो तह सरहको हकमा एस.एल.सी.,  एस.ई.ई. वा सो सरह उर्तिण गरेको हुनुपर्ने भनिएको छ। यो समूहका लागि १८ वर्ष पुरा भई दरखास्त दिने मितिसम्म पुरुषको हकमा ३५ वर्ष र महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने भनिएको छ।
आवेदकहरूको छनौट गर्दा आवश्यक सङ्ख्या भन्दा बढी आवेदन परेमा लोक सेवा आयोगले खरिदार (सहायक चौथो तह) पदको लागि स्वीकृत गरेको पाठ्यक्रम बमोजिम ५० पूर्णाङ्कको २५ वटा बहु वैकल्पिक प्रश्नको माध्यमबाट परीक्षा लिएर योग्यता क्रमानुसार छनौट गरिने प्रशासकीय अधिकृत सुवेदीले बताए।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive