पर्वत : नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतको सभापतिमा रुद्रबहादुर रिमालले ‘ह्याट्रिक’ गरेका छन् ।
यस अगाडिका दुई कार्यकालमा लगातार सभापतिमा निर्वाचित हुँदै आएका उनी शनिवार भएको निर्वाचनबाट नयाँ कार्यकालको लागि पनि सभापति भएका छन् । लगातार तीन कार्यकाल रेडक्रस जिल्ला शाखाको सभापति बनेका रिमाल मात्रै एक्लो व्यक्ति हुन् ।
नयाँ कार्यसमितिमा पनि रिमाल नै सभापति भएपछि उनले लगातार सात वर्ष पर्वत रेडक्रसको नेतृत्व सम्हाल्ने भएका छन् । दुई वर्षे कार्यकाल रहने रेडक्रसको विधान रहेको भए पनि कोभिड–१९ सङ्क्रमणको बेलामा भने अधिवेशन हुन नसक्दा एक वर्ष कार्यकाल थपिएको थियो ।
पर्वत शाखाको कार्यसमिति चयन गर्नका लागि एक सय ३४ जनामा मताधिकार रहेको भए पनि निर्वाचनमा भने एक सय ३१ जना मात्रै उपस्थित भएका थिए । उनीहरूमध्ये ८७ जनाले रिमाललाई मतदान गर्दा रिमालका प्रतीद्धन्द्धी कृष्ण शर्मा गौडेलले ४४ मत मात्रै पाएका छन् । रिमाल कुश्मा नगरपालिका–११ आर्थरका बासिन्दा हुने भने गौडेल फलेवास नगरपालिका–४ मुडिकुवाका हुन् ।
महिला उपसभापति पदमा भने निर्विरोध भएको छ । मानकुमारी गिरी र ईश्वरी पाठकको नाम निर्वाचनका लागि पुगेको भए पनि पाठकको पक्षमा निर्विरोध भएपछि उनीहरूका लागि मतदान गर्नु परेन । खुल्ला उपसभापति पदमा ढकप्रसाद तिवारी, इन्द्रमान खत्री र गोविन्द प्रसाद पाध्याको उम्मेदवारी रहेकोमा पाध्या विजयी भएका छन्। उनीहरूले क्रमशः सात, २६ र ९३ मत पाएका छन् ।
मन्त्रीमा आशिष जोशीले विमल शर्मा पौडेललाई १३ मतको अन्तरले पराजित गरेका छन् । पौडेलको पक्षमा ५४ मत आउँदा जोशीले ६७ मत पाएका छन् । कोषाध्यक्ष पदमा भीष्म मल्लले टीकाराम गौडेललाई ७० मतको अन्तरमा पराजित गरेका छन् । मल्लले ८३ मत पाउँदा गौडेलले १३ मत पाएका छन् । उपमन्त्रीमा किरण लामिछाने र कुलप्रसाद शर्मालाई पराजित गर्दै रुक्मागत सापकोटा निर्वाचित भएका छन् । उपकोषाध्यक्षमा दामोदर आचार्य निर्विरोध भएका छन् ।
महिला सदस्यहरूमा सुशीला कुमारी शर्मा, अम्बिका पौडेल र मिना कुमारी शर्मा निर्वाचित हुँदा सदस्यहरूमा हरेमबहादुर खत्री, ध्रुव मल्ल, सागर गिरी, धनबहादुर थापा, बालकृष्ण शर्मा, दुर्गा शर्मा ढकाल र लिलाधर गौडेल निर्वाचित भएका छन् ।