मङ्लबार, मंसिर २५, २०८१
Tuesday, December 10, 2024

स्थानीय पाठ्यक्रमको तयारीमा जुट्यो कुश्मा नगरपालिका

पर्वत : राष्ट्रिय पाठ्यक्रममा देशका सबै कुराहरू अटाउँदैनन् । बालबालिकाहरूलाई उनीहरूको स्थानीय ठाउँको विशेषतादेखि तिनीहरूको पहिचान लगायतका कुराको ज्ञान दिने गरी स्थानीय पाठ्यक्रमको अवधारणा आयो । एक सय पूर्णाङ्कको पाठ्यक्रम स्थानीय आवश्यकता अनुसार, मौलिकता, इतिहास, कला, पहिचान लगायतका पक्षहरूलाई समावेश गरिएको पाठ्यक्रमले राष्ट्रिय पाठ्यक्रममा अटाउन नसकेका विषयवस्तुहरू राख्न पाउँछन् ।
देशमा सङ्घीयता लागू भएसँगै स्थानीय तहहरू बने । राज्यको विकेन्द्रित नीति अनुसार स्थानीय सरकारले स्थानीय नागरिकका आवश्यकता परिपूर्ति गर्नुपर्छ । विकास निर्माणको क्षेत्रमा धेरै रकम खर्चिएका स्थानीय तहहरूले शिक्षा क्षेत्रभित्र छिरेर स्थानीय पाठ्यक्रम निर्माणमा दिएको चासो भने नगण्य छ । सङ्घीयता आएपछिको पहिलो पाँच वर्षे कार्यकालका लागि चुनिएका जनप्रतिनिधिहरूका लागि पनि पहिलो कार्यकाल सिकाइकै रूपमा रह्यो । यही कारण पनि स्थानीय तहहरूले स्थानीय पाठ्यक्रम तयार पार्ने, त्यसैको आधारमा पाठ्यपुस्तक तयार पारेर विद्यार्थीको हातमा पु¥याउने काम हुन सकेन ।
पर्वतका स्थानीय तहहरूले अब भने स्थानीय पाठ्यक्रमलाई बिस्तारै कार्यान्वयनमा लैजाने प्रयास गरिरहेका छन् । फलेवास नगरपालिकाले आउँदो शैक्षिक सत्रमा स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तकहरू विद्यालयमा लैजाने तयारी गरिरहेको छ । जलजला गाउँपालिकाले पनि कार्यदल बनाएर पाठ्यक्रम निर्माणको विभिन्न चरणहरूमा काम गरिरहेको छ । केही स्थानीय तहले पाठ्यक्रम निर्माण पछिल्लो प्रगतिको बारेमा जानकारी दिँदै आएका छन् भने कोहीले आन्तरिक रूपमा नै तयारी गरिरहेका छन् ।
पर्वतको सदरमुकाम रहेको र अन्य स्थानीय तहका लागि नमुनाका रूपमा प्रस्तुत हुन सक्ने कुश्मा नगरपालिकाले मङ्गलवार पहिलो पटक स्थानीय पाठ्यक्रम निर्माण प्रक्रियाको सुरुवात गरेको छ । सरोकारवालाहरूलाई भेला पारेर उनीहरूबाट लिएका सुझावका आधारमा पाठ्यक्रम तयार पार्ने गरी शिक्षक, विज्ञ, जनप्रतिनिधि, नगरपालिकाका कर्मचारीबिच पहिलो चरणको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको नगरपालिकाको शिक्षा शाखाका प्रमुख विष्णुप्रसाद तिवारी बताउँछन् ।
‘स्थानीय पाठ्यक्रमले समेट्नुपर्ने विषय, ज्ञान, सीप, अवधारणा तथा बस्तुगत स्थितिका बारेमा पाठ्यक्रम विज्ञ, जनप्रतिनिधि र कर्मचारीका बिचमा अन्तरक्रिया गरेर सुझाव लिएका छौँ । नयाँ शैक्षिक सत्रमा कक्षा एकदेखि तीनसम्मको पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्छन’, उनले भने, ‘बजेटको अभावदेखि छोटो समयावधिका कारण नयाँ शैक्षिक सत्रमा कक्षा आठसम्म लागू गर्न नसकिने भएको हो। शैक्षिक सत्र २०८१ मा भने आठसम्म नै लागू गर्ने छौँ ।’
केही समयमा नै विज्ञहरूसँग सम्झौता गरेर पाठ्यक्रमको प्रारम्भिक मस्यौदा तयार पारेर फेरि पनि सरोकारवालाहरूलाई राखेर मस्यौदामाथि छलफल गराइने छ । छलफलमा आएका सुझावहरूका आधारमा संशोधन गरेपछि पाठ्यपुस्तक लेख्ने काम सुरु गरिने शिक्षा अधिकृत दीपक सुवेदीले बताए ।
‘नगरभित्र रहेका जातजाति, भाषा, संस्कार, भेसभुसा, रहनसहन, धार्मिक स्थल, पर्यटकीय क्षेत्र, जडीबुटी, वन्यजन्तु, खोलानाला, खनिज पदार्थ, स्थानीय पेसा, कृषि तथा घरेलु औजार, सकारात्मक सत्कार, सेवामूलक सङ्घ संस्था, स्थानीय खेलकुद, भोजन, झारफुक प्रथा, कटुवाल प्रथा लगायतका विषयवस्तु राख्न सुझाव आएका छन्’, उनले भने, ‘नगरपालिकामा आधारभूत तहमा करिब २५ सय विद्यार्थी छन् । उनीहरूले आउँदो वैशाखबाट क्रमिक रूपमा स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक अध्ययन गर्ने मौका पाउने छन् ।’
नगरप्रमुख रामचन्द्र जोशीले पाठयक्रम बिज्ञ, भासा बिज्ञ, प्राबिधिक तथा शैक्षिक क्षेत्रका अनुभवी ब्याक्तिहरु मार्फत पाठ्यक्रमको प्रारुप तयार पार्न गृहकार्य अगाडी बढाएको बताउँछन् । स्थानीय पाठ्यक्रम कर्मकाण्डी नभई ब्यबाहरिक र जिवनउपयोगी बनाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।
कार्यक्रममा कुश्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजाल, प्रमुख प्रसासकिय अधिकृत कुमानसिह गुरुङ लगायतले नगरले बनाउन लागेको स्थानीय पाठ्यक्रमको आवश्यकता र महत्वको बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।
नगरप्रमुख जोशीको अध्यक्षतामा भएको कार्यक्रममा नगरकार्यपालिकाको सामाजिक विकास समितिका संयोजक ईश्वर गिरीको पनि सहभागिता रहेको थियो । कार्यक्रमको उद्धेश्यमाथि शिक्षा शाखाका प्रमुख तिवारीले बोलेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत अर्जुन पौडेलले गरेका थिए ।
स्थानीय आवश्यकताको विषयवस्तुले स्थान पाउने, स्थानीय तहबाटै पाठ्यक्रम निर्माण र कार्यान्वयन गर्ने कला बढ्ने, यसमा संलग्न भएकाहरूमा अपनत्वको अनुभव हुँदा कार्यान्वयनमा सहज हुने, स्थानीय स्रोत र साधनको उपयोग हुने, अभिभावक, शिक्षक, विद्यार्थी र विद्यालय प्रशासनबिचको सम्बन्ध बलियो बन्ने, नागरिकका स्थानीय अपेक्षा पूरा हुने, स्थानीय वस्तु, कला, संस्कृति लगायतको प्रवर्द्धन हुने, शिक्षकको क्षमतामा अभिवृद्धि हुने लगायतका फाइदा स्थानीय पाठ्यक्रमले दिन्छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive