पर्वत : मिलन ग्रुप अफ नेपालको आयोजनामा पर्वतको मोदी गाउँपालिकामा बृहत शैक्षिक एवं साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
‘स्थानीय कला संस्कृतिको प्रवर्द्धन गरौँ, बाल प्रतिभाको खोजी थालौँ । समाजका लागि मिलन ग्रुप अफ नेपालको लगानी, समाजसेवाको दीप बाल्न गरौँ आजैबाट थालनी’ भन्ने मुल नाराका साथ ‘मिलन ग्रुप अफ नेपाल’ को स्थापनाको अवसरमा कार्यक्रमको आयोजना गरिएको हो ।
मोदी गाउँपालिका–५ बाजुङ स्थित महेन्द्र शिखरी माध्यमिक विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा वडा स्तरमा प्रा.वि. तहका विद्यालयहरु सहभागी भएको लोक नृत्य प्रतियोगिता, पालिका स्तरमा माध्यमिक विद्यालयहरु सहभागी हुन पाउने गरी वक्तृत्वकला प्रतियोगिता, रत्यौली गीत प्रतियोगिता र भजन प्रतियोगिता सम्पन्न भएका छन् । सोही अवसरमा पञ्चेबाजाको प्रस्तुती पनि गरिएको थियो । प्रतियोगिताहरुमा बिजेता बनेकाहरुलाई नगद पुरस्कारहरु सहित प्रमाणपत्र वितरण गरिएको । प्रतिस्पर्धाहरुमा गाउँपालिकाका अधिकांश विद्यालयहरुको सहभागिता रहेको थियो ।
वक्तृत्वकला प्रतियोगितामा नवजागृत मा.वि प्रथम, जननेत्र मा.वि. द्धितिय र पशुपति मा.वि तृतिय बनेका छन् । नृत्य प्रतियोगितामा जनआदर्श आधारभूत विद्यालय प्रथम, सिद्धार्थ मा.वि. द्धितिय र सृजना बोर्डिङ स्कुल तृतिय भएका छन् । भजनतर्फ आदर्श भजन मण्डली र रत्यौलीतर्फ सानोपाखा महिला समूह सर्वोत्कृट बनेका छन् । यी सबै बिधाका प्रतियोगितामा प्रतिीपर्धीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य भक्त कुँवरले मिलन ग्रुप अफ नेपालका संयोजक तथा समाजसेवी दुर्गा घोताने गुरुङ ‘मिलन’ ले समाजका लागि गर्दै आएको सहयोग प्रशंसनीय रहेको बताए । राज्यले गर्नुपर्ने कामहरु गुरुङ एक्लैले गर्दै आउनुले राज्यले नागरिकका लागि निभाउनुपर्ने भूमिकाप्रति थप जिम्मेवार बन्न सन्देश मिलेको बताए । बालबालिकाहरुको प्रतिभा पहिचानका लागि एकल लगानीयमा बृहत कार्यक्रमको आयोजना गरिनु खुसीको कुरा भएको उनको भनाई थियो ।
अर्को प्रसङ्गमा बोल्दै सांसद कुँवरले आफू निर्वाचित भएर गण्डकी प्रदेश सभामा पुगेकाले आफ्नो क्षेत्रका नागरिकको समृद्धिका लागि आफूले सकेसम्मको पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । आफै बाजुङकै बासिन्दा भएकाले बाजुङका नागरिकका समस्या टार्न आफूले हरबखत प्रयास गरिरहेको कुँवरको भनाई छ ।
यस्तै मोदी गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माले समृद्ध मोदी गाउँपालिकाका लागि सकेसम्मको प्रयास गरिरहेको बताउँदै समाजसेवी गुरुङले समाजका लागि गर्दै आएका कामहरु पनि समृद्धिका संवाहक भएको बताईन् । सिंगो राज्य शक्तिले गर्नुपर्ने कामहरु पनि नभइरहेको बेलामा गुरुङले गरेका सामाजिक कामले समस्यामा रहेका नागरिकहरुको जीवनस्तर माथि उठाउन सहयोग मिलेको उनको भनाई छ ।
कार्यक्रममा बोल्दै समाजसेवी गुरुङले आफू हङकङमा रहेर पनि समाजका विभिन्न क्षेत्रमा सहयोग गर्न पाउनु खुसीको कुरा भएको बताए । देशका विभिन्न विद्यालय, स्वास्थ्य क्षेत्र, भौतिक निर्माण लगायतका क्षेत्रमा आफूले सहयोग गर्दै आएको र यो सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने उनको भनाई छ ।
समाजसेवी गुरुङकै अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यक्रमको आयोजना गरिएको स्थल महेन्द्रशिखरी मा.वि. का शिक्षक लक्ष्मण शर्माले गरेका थिए।
बृहत शैक्षिक एवं साँस्कृतिक कार्यक्रम को सहआयोजकमा मिलन फउण्डेसन नेपाल, मिलन डि.जी इन्टरनेशनल प्रा.लि र मिलन ट्रस्ट २०७४ रहेका थिए । यो कार्यक्रमको आयोजना गरेको मिलन ग्रुप अफ नेपालमा अन्य सदस्य संस्थाहरु आवद्ध रहेका छन् । तिनीहरु मिलन फउण्डेसन नेपाल, मिलन डि.जी इन्टरनेशनल प्रा.लि, मिलन ट्रस्ट २०७४, बाजुङ शैक्षिक प्रतिष्ठान, तमुस्यो रि–च्हमी परिवार, मिलन वल्र्ड डट न्यूज, मिलन पुस्तकालय पाल्पा, मिलन बहुउद्धेश्यीय महिला कृषक समूह, मिलन प्रगतिशिल महिला कृषक समूह, मिलनशिल दलित कृषक समूह, बाजुङ स्वास्थ्य अक्षयकोष, नरबहादुर गुरुङ स्मृति अक्षयकोष, आयुक अर्गानिक कृषि फर्म, मिलन किवी फर्म, मोदी युवा सञ्जाल बाजुङ र मिलन विपन्न महिला कृषक समूह रहेका छन् ।
बाजुङकै फलाल्नेमा घर भई हाल हङकङ बस्दै आएका गुरुङ लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै सामाजिक सेवाकै लागि बिभिन्न सदस्य संस्थामार्फत आर्थिक तथा भौतिक सहयोग गर्दै आइरहेका छन् । पर्वत मञ्च हङकङको अध्यक्ष र नेपाली जनप्रगतिशिलि मञ्च हडकका अध्यक्ष समेत रहेका गुरुङले पर्वत् जिल्ला सहित देशका बिभिन्न स्थानमा रहेका बिद्यालय, समुदाय, आर्थिक समस्यामा परेका, विपन्न, गरिव तथा दलित, बिद्यार्थी, यूवा क्लब लगायतलाई पनि आर्थिक तथा भौतिक सहयोगहरु ग्र्दै आइरहेका छन् । सुरुमा ‘मिलन फउण्डेसन नेपील संस्था स्थापना गरेको भए पनि अन्य संस्थाहरुको सङ्ख्या धेरै भएपछि ‘मिलन ग्रुप अफ नेपाल’ लाई छाता संस्थाका रुपमा राखेर अन्य संस्थाहरुलाई यही छाता संस्थाको सदस्य संस्थाका रुपमा राखिएको छ ।