मङ्लबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024
spot_img

नक्कली शरणार्थी प्रकरणमा कारबाही जारी राख्न भन्दै पर्वतमा ‘मोबाइल टर्च जुलुस’

वैशाख २९, २०८०
संजय रेग्मी
पर्वत : नक्कली शरणार्थी बनाई नेपालीलाई अमेरिका पठाउने ‘नक्कली शरणार्थी प्रकरण’ मा संलग्न रहेकाहरूलाई कडा कारबाही गर्न सरकारलाई समर्थन दिँदै पर्वतमा ‘मोबाइल टर्च जुलुस’ निस्किएको छ ।
विभिन्न राजनीतिक दलमा आस्थावान् तथा स्वतन्त्र युवाहरूको आयोजनामा देशको छवि धमिल्याउने र भ्रष्टाचार गरेर देशलाई खोक्रो पारेकाहरूलाई कारबाही हुनुपर्ने माग गर्दै मोबाइल फोनको सेटमा रहेको टर्च बालेर जुलुस निकालिएको हो । वर्तमान सरकारले ‘नक्कली शरणार्थी प्रकरण’ मा हात हालेकोमा बधाई ज्ञापन गर्दै अबका दिनमा यसमा संलग्नहरूलाई गम्भीर अनुसन्धान गरी कानुनी दायरामा ल्याउनुपर्ने माग सहित ¥याली निकालिएको युवाहरूले बताएका छन् ।
सदरमुकाम कुश्मा स्थित लोकतान्त्रिक चोकबाट निस्केको जुलुस बजारको केही भाग परिक्रममा गर्दै शिवालय चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभामा बोल्दै युवा तथा पर्वत अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले भ्रष्टाचारको अन्त्य भई सुशासन कायम नभएसम्म देश अगाडि बढ्न नसक्ने भएकाले भ्रष्टाचारको आरोप लागेकाहरूको विरोधमा र राम्रो कामको थालनी गरेकोले सरकारको समर्थमा ¥याली निकालिएको बताए । वर्तमान सरकार कसको नेतृत्वमा छ वा त्यसलाई कसले समर्थन गरेको छ भन्नु भन्दा पनि शक्तिमा रहेका व्यक्तिले भ्रष्टाचारको विरुद्धमा काम थालेको खुसीमा युवाहरूले स्वतःस्फूर्त रूपमा ‘मोबाइल टर्च जुलुस’ निकालेको उनको भनाई छ ।
‘सरकारले जुन कदम चालेको छ त्यसमा खुट्टा कमाउन पटक्कै पाइँदैन । सरकारले राम्रो काम गर्ने हो भने त्यसको लागि हामी युवाहरू साथमा छौँ भन्नका लागि यो जुलुस निकालिएको हो’, उनले भने, ‘सरकारले सत्य तथ्य छानबिन गरेर यो फलाना पार्टीको ऊ पार्टीको नभनी कडा रूपमा आओस्। त्यसमा आफ्नै मान्छे परे पनि माया नमानोस्। कानुनको दायरामा सबै आउनै पर्छ ।’
जुलुसमा सहभागी अर्का युवा आर.सी पौडेल (रामचन्द्र) ले देशमा संस्थागत रूपमा मानव तस्करीको काम गरेर मुलुकलाई अन्तर्राष्ट्रिय स्तरमा कमजोर बनाउनेहरूलाई कारबाही गर्नुपर्ने दबाब दिनको लागि युवाहरूकै नेतृत्वमा जुलुस निकालिएको बताए । ‘नक्कली शरणार्थी प्रकरण’ ले नेपालको अन्तर्राष्ट्रिय छविमा नै आँच आउने काम भएको भन्दै उनले देश र राष्ट्रियतामाथि खेलबाड गर्ने जोकोहीलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने बताए ।
‘सरकारले चाहेको अवस्थामा भ्रष्टाचारदेखि विविध काण्डका फाइल खोल्न सम्भव छ। तर ठुलाबडा नेताकै संलग्नता हुने भएका कारण काम गर्ने शक्ति पाएकाहरू नै तैँ चुप मै चुप भएका छन् । अब पनि चुप लागेर बस्ने हो भने यो देशको हालत के हुने हो ?’ उनले भने, ‘सरकारले जे भए पनि कामको थालनी गरेको छ । तर सरकारमै बसेका नेताहरूले यसमा असहयोग गर्न सक्ने प्रस्ट छ । त्यसैले अब देशभरबाट युवा शक्तिले कानुनी राज्यको निर्माणका लागि राजनीतिक स्वार्थभन्दा माथि उठेर आवाज उठाउनु आवश्यक छ ।’
‘नक्कली शरणार्थी प्रकरण’ का कारण देशको अन्तर्राष्ट्रिय छविमा अन्तर्राष्ट्रिय जगतले प्रश्न उठाउने अवस्था आएकाले देशको शोभामाथि नै प्रश्न निर्माण गर्नेहरूलाई कडा कारबाही गरिनुपर्ने जुलुसमा सहभागीहरूले बताएका छन् । अहिलेको प्रकरणमा तानिएकाहरू सहित विगतमा भएका भ्रष्टाचारका फाइलहरू खुलाउन पनि सरकार तयार हुनुपर्ने उनीहरूको माग छ ।
जुलुसमा सहभागी भएकाहरूले मिटर ब्याजको कारोबार गर्नेहरूका लागि सरकारले गरेको कडाइको स्वागत समेत गरेका छन् । जिल्ला प्रशासन कार्यालयले जिल्लामा मिटर ब्याज पीडितहरू रहेका भए उजुरी दिन आह्वान गर्नु पनि सरकारको राम्रो काम भएको उनीहरूको भनाई छ । तर युवा शक्तिले सुशासन स्थापनाका लागि खबरदारी गर्ने काम छाड्न नहुने जुलुसमा सहभागी यूवा ठाकुर रसाइलीले बताए । जुलुसले बजार परिक्रमा सुरु गर्नु अगाडि लोकतान्त्रिक चोकमा भएको भेलामा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी पर्वतका संयोजक नवराज भण्डारीले भ्रष्टाचारले देशलाई खोक्रो बनाएकाले अब पनि नबोल्ने हो भने देश नै सङ्कटमा पर्ने जोखिममा रहेको बताएका थिए ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive