शुक्र, फाल्गुन २९, २०८२
Fri, March 13, 2026

शैक्षिक गुणस्तर बढाउन जलजलाका अभिभावकलाई शिक्षा

साउन १६, २०८०

पर्वत : शैक्षिक गुणस्तर बढाउन विभिन्न योजना कार्यान्वयन गरिरहेको जिल्लाको जलजला गाउँपालिकाले स्थानीय तहभित्रका सबै विद्यालयमा ‘अभिभावक शिक्षा’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।

विद्यार्थीलाईअनुकुल वातावरण निर्माण गर्दै उनीहरूको सिकाइमा थप सहजीकरणका लागि ‘अभिभावक शिक्षा’ को खाँचो देखिएकाले जलजलामा रहेका ४७ वटै सामुदायिक विद्यालयका अभिभावकहरूलाई शिक्षा दिन लागिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए।

सूचना र प्रविधिको बढ्दो प्रयोग, शिक्षा क्षेत्रमा भइरहेका परिवर्तन, समयको मागअनुसार बालबालिकाप्रति गर्नुपर्ने व्यवहार, बालबालिका र विद्यालयप्रति अभिभावकको दायित्व लगायतको विषयमा जानकारी दिएर अभिभावकलाई थप जिम्मेवार बनाउन लागिएको उनको भनाइ छ। ‘यसले बच्चाहरूको विकास र सिकाइलाई  आकार दिन महत्त्वपूर्ण भूमिका खेल्छ। आमाबाबुको शिक्षाले उनीहरूलाई शारीरिक, संज्ञानात्मक, सामाजिक र भावनात्मक पक्षसहित बाल विकासको बारेमा ज्ञान प्रदान गर्छ’ आचार्यले भने, ‘यस शिक्षाले व्यावहारिक अभिभावकीय सीप र रणनीति प्रदान गर्ने छ। प्रभावकारी अभिभावकत्वले बच्चाको व्यवहार, अनुशासन र समग्र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ।’

अभिभावक शिक्षाले बालबालिकाहरूलाई उनीहरूको पूर्ण क्षमतामा पुग्न मद्दत गर्ने, समग्र रूपमा परिवार र समाजको कल्याणमा योगदान पुर्‍याउने, अभिभावकत्वका जटिलतालाई न्यूनीकरण गर्ने, बच्चाको वृद्धि र विकासको लागि पोषण र सहयोगी वातावरण सिर्जना गर्ने लगायतका सीप अभिभावकले सिक्ने छन्।

स्वस्थ सम्बन्ध, बाल सुरक्षा, भावनात्मक व्यवहार, बाबुआमा वा संरक्षकबाट हुने ‘रोल मोडलिङ’ लगायतका विषयमा अभिभावकहरूलाई जानकारी गराएर बालबालिकाहरूको सिकाइमा थप सहजीकरण गर्ने गाउँपालिकाको योजना छ। कार्यक्रम अन्तर्गत अभिभावकहरूलाई लक्षित गरी शैक्षिक क्षेत्रसँग सम्बन्धित विविध विषयमा शैक्षिक विज्ञ, कर्मचारी, जनप्रतिनिधि, गाउँ शिक्षा समितिका सदस्य, सम्बन्धित वडाका अध्यक्ष तथा शैक्षिक सरोकारवालाको उपस्थितिमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्ने प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए।

अभिभावकले जस्तो व्यवहार गर्छन् त्यसैको सिको बालबालिकाले गर्ने भएकाले पनि अभिभावक शिक्षाको आवश्यकता बढेको उनको भनाइ छ। ‘बालबालिकाहरूले दिउसोको समयमा त विद्यालयमा अध्ययन गरिरहेका हुन्छन्। तर बिहान, बेलुका वा विद्यालय बाहेकको समयका शिक्षक भनेका अभिभावक नै हुन्’, शर्माले भने, ‘हामी आफैँ धेरै समय सामाजिक सञ्जालमा समय बिताउँछौँ। अनि बच्चाले त्यही सिकेर सामाजिक सञ्जाल चलाउँछन्। तर हामी उनीहरूलाई नचलाऊ भन्दै आफै चलाउँछौँ। यस्ता धेरै विषय छन्, जुन अभिभावकबाट सुधार हुन आवश्यक छ।’

‘अभिभावक शिक्षा’ कार्यक्रम सञ्चालनको लागि गाउँपालिकाले साउन १५ देखि १८ गतेसम्मका लागि समय तालिका नै बनाएर सार्वजनिक गरेको छ। शिक्षा प्रदान तथा छलफल कार्यक्रम सञ्चालनको लागि  गाउँपालिकाले समूह निर्माण गरेको छ। ती समूहहरूले  तोकिएको समयमा विद्यालयमा सरोकारवालालाई उपस्थित गराएर छलफल र आगामी दिनमा शैक्षिक गुणस्तरका लागि गर्नुपर्ने कामको बारेमा निष्कर्ष निकाल्ने छ।

थाहा खबरबाट

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive