बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

पर्वतको बितलबमा फेरि पनि देखियो सबैभन्दा विषालु सर्प ‘किङ कोब्रा’

भदौ २९, २०८०

पर्वत : विगतमा पनि राज गोमन अर्थात् ‘किङ कोब्रा’ सर्प भेटिएको पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारीमा फेरि पनि ‘किङ कोब्रा’ देखिएको छ।

वडाध्यक्ष रामचन्द्र सुवेदीका अनुसार शुक्रवार बिहान करिब आठ बजेको समयमा स्थानीय बेलप्रसाद सुवेदीको गोठमा ‘काली नाग’ का नामले समेत परिचित ‘किङ कोब्रा’ देखिएको थियो। ‘किङ कोब्रा’ नै भएको भए लोपोन्मुख प्रजातिको सर्प हुने भएकाले त्यसको उद्धार र संरक्षणको लागि पोखराबाट बोलाइएको उद्धार टोली सहित डिभिजन वन कार्यालय पर्वतबाट पनि कर्मचारीहरूको टोली पुगेको थियो।

बिहानको समयमा देखिएको सर्प उद्धारकर्ताहरू पुग्दा भने देखिएको स्थानमा नभेटिएको उद्धार गरेर सुरक्षित स्थानमा लैजान नसकिएको वडाध्यक्ष सुवेदीको भनाइ छ। उद्धार टोलीले गोठसहित आसपासको क्षेत्रमा लामो समय प्रयास गरेर खोज्दा पनि सर्प नभेटिएपछि उनीहरू फर्किएका छन्।

खोजीको क्रममा नभेटिएकोले सर्प गोठ वा आसपासमा नै लुकेर बसेको हुन सक्ने भएकाले त्यसबाट सुरक्षित रहँदै पूर्व सतर्कताका मापदण्डहरू पालना गर्न भनिएको छ। ‘पोखराबाट आएको टोलीले यहाँको डिभिजन वन कार्यालयका कर्मचारीहरू सहित सर्पको खोजी गरे पनि भेट्टाउन सकिएन’, वडाध्यक्ष सुवेदी भन्छन्, ‘बिहान देखिएको सर्प केही समयपछि नदेखिएकोले त्यो त्यहीँ कतै लुकेर बसेको छ। यो सर्प संसारकै सबैभन्दा लामो र विषालु सर्प हो भन्ने छ। त्यसैले  पनि घर गोठमा काम गर्दा ध्यान बस्तीका नागरिकलाई अनुरोध गरेका छौँ।’

बितलबमा यसअघि दुई पटक पनि ‘किङ कोब्रा’ नै भेटिएको दाबी गरिएको थियो। २०७५ सालमा भेटिएको ‘राज गोमन’ लाई संरक्षण क्षेत्रमा लगिएको थियो। त्यो बेलाको भेटिएको ‘किङ कोब्रा’ को लम्बाइ ११ फिट लम्बाइ र साढे नौ किलोग्राम तौल रहेको थियो। त्यो सर्पलाई पनि पोखराबाट आएको उद्धारकर्ताहरूको टोलीले नै उद्धार गरिएको थियो।

विशेषतः एसियामा पाइने र अत्यधिक विषयुक्त मानिने यो सर्पको लम्बाइ तीनदेखि चार मिटरसम्मको हुने गरेको छ। यो प्रजातिहरू सर्पहरूका वासस्थान र शरीरका रङहरू पनि फरक फरक पाइने गरेका छन्। अन्य सर्पहरूको सिकार समेत गर्ने गरेको छ। घाँटी ‘फ्ल्याप’ फैलाउने, टाउको सीधा उठाउने, सिधा आँखा जुधाउने, हिसहिसाउने र आफूलाई खतराको महसुस भएमा आक्रमण गर्ने गर्दछ। शरीरको लम्बाई र घाँटी माथि उठाउन सक्ने क्षमताका कारण यसले फराकिलो दायरासम्म पुगेर डस्न सक्छ। ‘किङ कोब्रा’ ले डसेपछि समयमा नै उपचार भएन भने बिरामीको मृत्यु हुन सक्छ।

तराई क्षेत्रमा पाइने सो प्रजातिको सर्प कसरी यस क्षेत्रमा आइपुग्यो भन्ने अनुसन्धान गर्नुपर्ने उद्धार टोलीका सदस्यहरू बताउँछन्। साना र सामान्य खालका सर्प मात्र देखिने गरेको यस क्षेत्रमा ठुला र अति विषालु प्रजातिको सर्प घर आँगनमा नै देख्दा स्थानीयवासी त्रसित हुने गरेका छन्।

‘किङ कोब्रा’ ले उचित वासस्थान नपाउँदा तथा जलवायु परिवर्तन र मानवीय व्यवहारका कारण पनि जोखिममा  पर्दा यो प्रजातिका सर्पहरू कम हुँदै गइरहेका छन्। भारत, दक्षिणी चीन र इन्डोनेसियाली द्वीप समूह सहित दक्षिण पूर्व एसियाको जङ्गल यी सर्पका प्रमुख वासस्थानहरू हुन्। यिनीहरू सामान्यतः जङ्गली क्षेत्रहरू, बाँसको झाडी र पानीको नजिकै पाउने गरिएको छ। ‘किङ कोब्रा’ ले एक शक्तिशाली ‘न्यूरोटोक्सिन’ उत्पादन गर्ने गर्दछ जसले चाँडै पक्षाघात गर्न वा आक्रमणमा परेको प्राणीलाई मार्न सक्छ। ‘किङ कोब्राको एउटै टोकाइले एउटा हात्ती वा २० जनासम्म मानिसलाई मार्न पर्याप्त विष प्रसारण गर्न सक्ने मान्यता रही आएको छ।

‘किङ कोब्रा’ लाई प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घद्वारा वासस्थानको क्षति र मानव उत्पीडनको कारणले जोखिममा सूचीमा राखिएको छ। मानिसलाई गर्न सक्ने आक्रमण र परम्परागत चिकित्सा अभ्यासहरूमा यिनीहरूको छाला र अङ्गहरू प्रयोग हुने गरेकाले पनि यिनीहरूमाथि आक्रमण हुने गरेको छ।

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive