पर्वत : मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–४ अर्मादीमा जिप र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका अनुसार बिहीबार बिहान करिब पौने ९ बजेछमर्केको घुम्तीमा दुई सवारी ठोक्किएका हुन्।
अञ्जिता कृषि तथा पशुपक्षी फार्मको कुखुरा बोक्न प्रयोग हुँदै आएको ध १ च ४० नम्बरको जिप र पर्वतकै महाशिला गाउँपालिका–३ बालाकोटका ३० वर्षीय सुरज पौडेलले चलाएको मोटरसाइकल ठोक्किएका हुन्।
मोटरसाइकल चालक पौडेलको घुँडा र अनुहारमा चोट लागेको छ भने पछाडि बसेकी उनकी श्रीमती ३० वर्षीया सरिता चापागाईँको घुँडा र टाउकोमा चोट लागेको छ। उनीहरूकी छोरी चार वर्षीया समिरा सकुशल छिन्।
पर्वतका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाका अनुसार सुरजको उपचार पर्वत अस्पतालमा नै भइरहेको छ भने श्रीमती सरितालाई गम्भीर चोट लागेकाले थप उपचारका लागि पोखरा पठाइएको छ।