पर्वत : जिल्लाको जलजला गाउँपालिकाले आउँदो मङ्सिर ७ र ८ गते राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
स्थानीय तहमा रहेका सामुदायिक तथा संस्थागत बिद्यालयहरुबीच बिभिन्न खेलमा प्रतिस्पर्धा हुने गरी आयोजना गर्ने गरेको प्रतियोगिता अन्तर्गत यस वर्ष पनि प्रतियोगिताको आयोजना गर्न लागिएको गाउँपालिकाको शिक्षा शाखाका अधिकृत त्रिविक्रम आचार्यले बताए ।
शिक्षा विकास तथा समन्वय इकाई कुश्माले पुष १४ गतेदेखि १६ गतेसम्म तीन दिन जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता र २०८१ जेठ २६ गतेदेखि २८ सम्म प्रदेश स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन गर्ने जानकारी गराएपछि मङ्सिरमा नै गाउँपालिका स्तरीय प्रतियोगिताको आयोजना गरिएको हो । गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा सहभागी हुने विद्यालयहरुले मङ्सिर ६ गतेभित्र कार्यालय समयमा प्रतियोगी बिद्यार्थिहरुको नाम दर्ता गराउनुपर्ने भनिएको छ ।
प्रतियोगितामा छात्र/छात्रा भलिबल, छात्र/छात्रा कबड्डी, एथलेटिक्समा छात्र/छात्रातर्फ एक सय मीटर, दुई सय मिटर, चार सय मिटर, आठ सय मिटर, १५ सय मिटरको दौड, रिले दौड, हाईजम्प, लङ जम्प, ट्रिपल जम्प, ज्याब्लीङ थ्रो, सटफुट थ्रो, १२ पाउन्ड, कराँते लगायतका खेलहरु समावेश गरिएका छन् ।
विद्यालयले प्रतियोगी बिद्यार्थीहरुको फोटो सहित अनुसूची–१ को फाराम भर्नुपर्ने, ईमिस र जन्म दर्ताको प्रमाण पत्र संलग्न हुनुपर्ने, प्रतियोगी विद्यार्थी १८ वर्ष ननाघेको हुनुपर्ने, कबड्डीतर्फ छात्र ७० केजी भन्दा मुनी र छात्रा ६५ के.जी. भन्दा मुनीको हुनुपर्ने, एथलेटिक्स खेलतर्फ एक जना खेलाडीले ट्रयाक दौडतर्फ दुई वटा ईभेन्ट्स र फिल्डतर्फ एउटा ईभेन्ट् भाग लिन सक्ने अथवा फिल्डतर्फ दुई वटा ईभेन्टस् र ट्रयाकतर्फ एउटा ईभेन्टसमा भाग लिन सक्ने भनिएको छ ।
खेलाडीहरुले जर्सी अनिवार्य लगाउनुपर्ने तथा सहभागी बिद्यालयको तर्फबाट राष्ट्रिय झन्डा अनिवार्य लिएको हुनुपर्ने पनि शर्त राखिएको छ । प्रतियोगिता जलजला गाउँपालिका–३ बिद्याज्योति माध्यामिक बिद्यालयको खेल मैदानमा आयोजना गरिने अधिकृत आचार्यले बताए ।