पर्वत : व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पर्वतले बिभिन्न १२ प्रकारका तालिमहरु निशुल्क रुपमा सञ्चालन गर्न लागेकाले तालिम लिन इच्छुकहरुलाई आवेदनका लागि आह्वान गरेको छ ।
कार्यालय प्रमुख मोहनचन्द्र सुवेदीका अनुसार चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार सूचना प्रकाशन भएको १५ दिन भित्रमा योग्यता पुगेका उम्मेदवारहरुबाट आवेदन माग गरिएको हो । आधारभूत कटाइ सिलाइ तालिम, आधारभूत केश श्रृङ्गार तथा ब्युटीसियन तालिम र आधारभूत कम्प्युटर तालिम व्यावसायिक तथा सीप विकास तालिम केन्द्र कुश्मामा सञ्चालन गरिने छ । मोटरसाइकल मर्मत तालिम कुश्मामा, विद्युत जडान तथा वायरिङ तालिम पैयूँ गाउँपालिकामा, प्लम्बीङ, मोबाइल मर्मत, एडभान्स कटाइ सिलाई र एडभान्स केश श्रृङ्गार तथा ब्युटीसियन तालिम बागलुङमा सञ्चालन गर्ने तयारी छ । यस्तै कपाल काट्ने र मन्टेश्वरी तालिम म्याग्दीको बेनीमा मिनिटेलर हलो मर्मत तालिम मुस्ताङको थासाङ गाउँपालिकामा सञ्चालन गर्न लागिएको छ ।
प्रत्येक तालिमको एक समूहमा बढीमा २० जना समावेश गरेर तालिम गराइने कार्यालय प्रमुख सुवेदीले बताए । यसका लागि व्यावसायिक तथा सीप विकास तालिम केन्द्र कुश्मा, धौलागिरि मोर्डन एण्ड मिदोरी ट्यूसन सेन्टर बागलुङ, पैयूँ गाउँपालिकाको कार्यालय पर्वत, बेनी नगरपालिकाको कार्यालय म्याग्दी र थासाङ गाउँपालिकाको कार्यालय मुस्ताङबाट फाराम लिन सकिने छ । मन्टेश्वरी तालिम लिनको लागि कक्षा १२, कम्प्युटर तालिम लिनको लागि एसइइ वा सो सरह, एडभान्स तालिम लिनको लागि आधारभूत तालिम लिएको तथा अन्य तालिमका लागि कम्तीमा आठ कक्षा उत्तीर्ण गरेको हुनुपर्ने शर्त राखिएको छ । १८ वर्ष पूरा भई ४० वर्ष पार नगरेका व्यक्तिले मात्रे लिन पाउने यी तालिमहरु तीन महिनासम्म सञ्चालन हुन छन् ।
कार्यालय प्रमुख सुवेदीका अनुसार आर्थिक तथा सामाजिक रुपले विपन्न, एकल महिला, दलित, द्धन्द्ध पीडित, वैदेशिक रोजगारीबाट फर्किएका, कोभिडबाट प्रभावित भएका तथा सम्बन्धित पेसा व्यवसायमा संलग्न भइरहेकाहरुलाई तालिममा प्राथमिकतामा राखिने छ । तोकिएभन्दा बढी संख्यामा आवेदन परेमा अन्तरवार्ताबाट प्रशिक्षार्थीको छनोट हुने र अन्तरवार्ताको मिति र स्थान अर्को सूचनामा प्रकाशन गर्ने सुवेदीले बताए ।
मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025