पर्वत : निजामती कर्मचारीहरूको विभिन्न मापदण्डका आधारमा गरिएको मूल्याङ्कनबाट गण्डकी प्रदेशका १० जना कर्मचारीहरूलाई नगद पुरस्कार सहित सम्मान प्रदान गरिएको छ।
गण्डकी प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा ११४ को उपदफा (१) तथा गण्डकी प्रदेश निजामती सेवा नियमावली, २०७९ को नियम १३१ को व्यवस्था अनुसार प्रक्रिया पूरा गरेका सर्वोत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कार, उत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कार र प्रदेश निजामती पुरस्कारबाट उनीहरूलाई सम्मान गर्ने निर्णय भए अनुसार शुक्रवार गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो।
एक लाख पुरस्कार रहेको सर्वोत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कारबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रदेश सचिव (कानुन) शम्भुराज रेग्मी पुरस्कृत भएका छन्। यस्तै जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय पर्वतका निमित्त कार्यालय प्रमुख तथा आठौँ तहका इन्जिनियर विष्णुहरि अधिकारी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत शाखा अधिकृत प्रदीपचन्द्र सुवेदी र यातायात व्यवस्था कार्यालय, सवारी कास्कीमा सातौँ तहमा कार्यरत मेकानिकल इन्जिनियर, समिना पुन सर्वोत्कृष्ट प्रदेश निजामती पुरस्कारबाट सम्मानित भएका छन्। उनीहरूलाई जनही ७५ हजार रुपैयाँ सहित सम्मान पत्रले सम्मान गरिएको छ।
प्रदेश सरकारले कर्मचारीहरूको कार्यसम्पादनको आधारमा गरेको सम्मानले आफूहरूले झनै जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्न जिम्मेवारी थपेको सम्मान पाएका जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय पर्वतका निमित्त कार्यालय प्रमुख अधिकारीले बताए। आफ्नो कार्यालय समेत प्रदेशमा उत्कृष्ट बनेको भन्दै उनले कार्यालयमा कार्यरत कर्मचारीहरूको कार्यगत एकता र उचित व्यवस्थापनका कारण हरेक कामहरू कुशलतापूर्वक सम्पन्न गर्न सकिएको र चालु अवस्थामा रहेका कामहरू उचित अवस्थामा रहेको अधिकारीले बताए। कार्यालयबाट प्रदान गरिने सेवालाई अझै छिटो, छरितो, गुणस्तरीय र नागरिकमैत्री बनाउँदै लैजान आफूहरू प्रतिबद्ध रहेको पनि उनको भनाइ छ।
यस्तै प्रदेश निजामती सेवा पुरस्कार विभिन्न कार्यालयहरूमा कार्यरत छ जना कर्मचारीहरूलाई प्रदान गरिएको छ। नगद ५० हजार रुपैयाँ नगद पुरस्कार रहेको यो पुरस्कार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सातौँ तहका अधिकृत शिव लम्साल, आर्थिक मामिला मन्त्रालयमा कार्यरत कानुन अधिकृत तेजेन्द्रप्रसाद ढकाल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मनाङमा कार्यरत आयुर्वेद चिकित्सक डा. शङ्कर गौतम, पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय पोखरामा कार्यरत छैटौँ तहका प्राविधिक अधिकृत सुरेशकुमार श्रेष्ठ, गोरखा अस्पताल गोरखामा कार्यरत सिनियर अनमी प्रतिमा श्रेष्ठ र पर्यटन तथा उद्योग कार्यालय कास्कीमा कार्यरत सहायक स्तर पाँचौँ तहका अर्जुनप्रसाद काफ्लेले पाएका छन्।
निजामती सेवामा उत्कृष्ट काम गरेका गण्डकीका १० जना कर्मचारीहरू पुरस्कृत
