बिहिबार, चैत्र १३, २०८१
Thursday, March 27, 2025

विद्यालयमै करेसाबारी निर्माणको अभियानमा पैयुँ गाउँपालिका

पर्वत : जिल्लाको पैयुँ गाउँपालिकाले व्यवहारिक र सीपमूलक शिक्षा अन्तर्गत विद्यार्थी र शिक्षकलाई तरकारी उत्पादनमा जोड्न दुई विद्यालयमा कार्यक्रम सुरु गर्ने भएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय य अधिकृत राजीव रिमालका अनुसार ‘एक विद्यालय एक करेसाबारी’ कार्यक्रम अन्तर्गत गाउँपालिका- ७ भोर्लेमा रहेका जनता माध्यमिक विद्यालय र धर्मोदय माध्यमिक विद्यालयमा गाउँपालिकाको एक लाख ५० हजार रुपैयाँ लगानीमा यो कार्यक्रम सुरु गर्न लागिएको हो। जसमा सम्बन्धित विद्यालयले कुल २५ प्रतिशत रकम बेहोर्नुपर्ने छ।

गाउँपालिकाको कृषि शाखाको चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रम अन्तर्गत इच्छुक विद्यालयहरूबाट निवेदन माग गरिएको थियो। ‘एक विद्यालय एक करेसाबारी कार्यक्रम सञ्चालन कार्यविधि, २०८०’ को मूल्याङ्कन मापदण्ड बमोजिम शिक्षण संस्था छनोट समितिको अनुगमन प्रतिवेदनको आधारमा दुई विद्यालय छनोटमा परेका हुन्। एक विद्यालयमा गाउँपालिकाकोतर्फबाट ७५ हजार रुपैयाँ लगानी हुने छ भने सोही विद्यालयले २५ प्रतिशत लगानी साझेदारी अन्तर्गत २५ हजार रुपैयाँ लगानी गरेर यो पहिलो पटक एक लाख रुपैयाँ लगानी हुने छ।

विद्यार्थी र शिक्षक दुवैलाई उत्पादनमा जोड्न र कृषिमा आकर्षित गर्ने योजनाका साथ यो कार्यक्रम सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत रिमालले बताए।

‘यसको खास अन्तर्य भनेको शिक्षक र विद्यार्थीलाई कृषि र उत्पादनसँग जोड्नु रहेको छ। उत्पादन भएपछि कार्यविधि अनुसार नै उत्पादित तरकारीको बिक्री वितरण तथा उपभोग हुन्छ’, उनले भने, ‘अहिले नै त्यति धेरै भोल्युममा त उत्पादन नहोला। टनेल निर्माणदेखि अन्य व्यवस्थापनका काम पनि यही बजेटबाट हुने हो। अहिले कम्तीमा पनि कृषिमा जोड्न सकियो भने कृषि कर्मको बानी बस्छ भन्ने उद्देश्य हो।’

गाउँपालिकाका कृषि शाखा प्रमुख शारदा शर्माले बिहान, दिउँसो, साँझ गरेर विद्यार्थी र शिक्षकलाई पायक पर्ने समय विद्यालयले नै व्यवस्थापन गरेर विद्यार्थी र शिक्षकले करेसाबारीमा काम गर्ने छन्।

पहिलो चरणमा सुरु भएको यो कार्यक्रमबाट उत्पादित बस्तुलाई विद्यालयले दिवा खाजाको रूपमा प्रयोग गर्दा आफैले उत्पादन गरेको ताजा तरकारी आफैले उपभोग गर्न सक्ने अवस्था पनि रहेको उनको भनाइ छ। तर उत्पादन भएको मध्येको ६० प्रतिशत आम्दानी भने विद्यार्थीले पाउनुपर्ने नियम राखेको छ। बचत हुने ४० प्रतिशत रकमबाट तरकारीको बीउबीजन खरिददेखि आवश्यक सामग्री खरिदका लागि खर्च गर्नुपर्ने भनिएको छ।

‘विद्यार्थीले कम्तीमा पनि दुई रोपनी जमिनमा तरकारी खेती गरेको हुनुपर्छ। यो करेसाबारीमा कक्षा आठ र नौमा अध्ययनरत विद्यार्थीहरूले काम गर्नेछन्। यसको व्यवस्थापनका लागि आवश्यक समय विद्यालयले नै बनाउँछ’, कृषि शाखा प्रमुख शर्माले भनिन्, ‘आम्दानी भएकोमध्ये ६० प्रतिशत रकम यसमा काम गरेका कक्षा आठ र नौ का विद्यार्थीहरूले नै पाउँछन्। दुःख गरेपछि आम्दानी हुँदो रहेछ भनेर उनीहरूलाई सिकाउने नै उद्देश्य हो।’

कृषि पेसालाई व्यावसायिक बनाउन तथा कृषिमा दक्ष जनशक्ति उत्पादनका लागि अभिप्रेरणा दिन गाउँपालिकाले नमुनाका रूपमा दुई वटा विद्यालयलाई नमुनाका रूपमा लिइएको गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरी बताउँछन्। पहिलो चरणमा दुई विद्यालयमा कार्यक्रम सुरु गरेको भए पनि आगामी आर्थिक वर्षमा गाउँपालिकाका सबैजसो विद्यालयमा यो कार्यक्रम सुरु गरिने उनको भनाइ छ।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive