शुक्र, असार ६, २०८२
Fri, June 20, 2025

पर्वत अस्पतालमा विषयगत विशेषज्ञ सेवा विस्तार सहित १२ घण्टा ओपिडी सेवा

जेष्ठ ३०, २०८१

पर्वत : पछिल्लो समयमा बिरामीहरूको अधिक चाप भोगिरहेको पर्वत अस्पतालमा विषयगत रूपमा विशेषज्ञ सेवा विस्तार गरिएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाका अनुसार अस्पतालमा कन्सल्टेन्ट मेडिकल जनरलिस्ट, जनरल सर्जन र स्त्री तथा प्रसूति रोग गरी तीन वटा विषयगत क्षेत्रमा विशेषज्ञ सेवा विस्तार गरिएको हो । कन्सल्टेन्ट मेडिकल जनरलिस्ट (एमडीजीपी) अन्तर्गत मेडिसिन, सर्जिकल (स्त्री तथा प्रसूति रोग) तर्फ डा. हेमन्त बास्तोला र डा. मिलन अवाले, जनरल सर्जनतर्फ शरीरमा भएका गाँठागुँठी, पायल्स, फिस्टुला, हाइड्रोशील, हर्निया, एपेन्डीसाइटिस लगायतका शल्यक्रियामा डा. शिशिर देवकोटा तथा स्त्री तथा प्रसूति (महिला) रोग सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि डा. सन्तोषी थपलियाले सेवा दिने छन् ।
बास्तोला, देवकोटा र थपलिया यस अगाडी नै पर्वत अस्पतालमा रहेर सेवा दिइसकेका चिकित्सक हुन् । बास्तोला दोस्रो कार्यकाल अस्पतालमा आउँदा मेडिकल सुपरीटेन्डेन्टको रूपमा आएका छन् भने देवकोटा र थपलिया अध्ययन बिदापछि पुनः पर्वत अस्पतालमा आएका हुन। उनीहरू यसअघि अस्पतालको मेडिकल सुपरीटेन्डेन्टको जिम्मेवारी सम्हालिसकेका चिकित्सक हुन् ।
वर्षौँ पहिलासम्म सामान्य उपचारको सेवाको लागि पनि बिरामीलाई पोखरा पठाउँदा ‘रिफर सेन्टर’ को उपनाम पाएको अस्पतालमा पछिल्लो समयमा बिरामीहरूको थामीनसक्नुको भीड लाग्ने गरेको छ । पछिल्ला केही वर्षहरूमा निर्माण भएका आधुनिक सुविधा सहितका भौतिक संरचना र शल्यक्रिया सेवा प्रदान गर्ने चिकित्सहरुको व्यवस्थापन हुँदै गएपछि अस्पतालमा पर्वत जिल्ला सहित छिमेकी जिल्लाका बिरामीहरू समेत आउने गरेका छन् ।
अस्पतालले विषयगत रूपमा दक्ष चिकित्सहरुबाट सेवा प्रदान गर्दा अस्पतालमा बिहानैदेखि रातीसम्म पनि बिरामीको चाप बढ्दै गइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले बताए । अस्पतालबाट मेडिसिन, सर्जिकलसम्बन्धी सम्पूर्ण सेवा चौबिसै घण्टा उपलब्ध रहेकोले कोही पनि बिरामी उपचारको खोजीमा बाहिर जान नपर्ने बताउँछन् ।
अस्पतालले बिरामीहरूको आवश्यकता तथा सरकारी वा गैर सरकारी सेवामा संलग्न रहेकाहरूको व्यस्त समयलाई ख्याल गरेर ओपिडी सेवालाई बिहान र बेलुकाको समयमा पनि विस्तार गरेपछि बिरामीको चाप झनै बढ्दै गइरहेको छ । सामान्यतः अस्पतालहरूमा बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म ओपिडि सेवा खुल्ला हुने गर्दछ । तर पर्वत अस्पतालले भने यो सेवालाई बिहान सात बजेदेखि साँझको सात बजेसम्म नै विस्तार गरेको छ । यो समयमा दैनिक मजदुरीमा जानेहरूदेखि शिक्षक र कर्मचारीहरूले स्वास्थ्य परीक्षण गराउनुपर्दा मजदुरले एक दिनको काम नै छाड्नुपर्ने अनि शिक्षक र कर्मचारीहरूले एक दिन बिदा लिनुपर्ने बाध्यताको अन्त्य भएको छ ।
तर पर्वत अस्पतालले बिहान र बेलुकाको समयमा समेत ‘ओपिडी’ सेवा सुरु गरेपछि दिवा सत्रमा स्वास्थ्य सेवा लिन समस्या भोग्दै आएकाहरूलाई राहत हुने भएको छ । दिउसोको समयमा मात्रै ‘ओपिडी’ सेवा प्रदान गर्दा अस्पतालमा दिउँसोको समयमा मात्रै बढी चाप हुनुका साथै सेवाग्राहीलाई पनि समस्या हुने भएपछि अस्पतालले केही समय अगाडिदेखि तयारी गरेर सोमबारदेखि बिहान र बेलुकाको समयमा पनि ‘ओपिडी’ सेवा सुरु गरेको हो ।
दिउसोको समयमा कार्यालय वा काममा जानुपर्ने व्यक्तिले बिहान बेलुकाको समयमा विज्ञ चिकित्सकको स्वास्थ्य परीक्षण बिना निजी मेडिकल तथा फार्मेसीमा पुगेर औषधि लिने गरेका थिए । तर अस्पतालले विस्तार गरेको ओपिडी र विषयगत विशेषज्ञ सेवाले कोही पनि बिरामीलाई निजी मेडिकल वा फार्मेसीमा जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाले विशेषज्ञ सेवाले जटिल अवस्थाका बिरामीलाई पनि पर्वतमा नै उपचार गर्न सम्भव भएको बताउँछन् । अहिले थप गरिएका सेवा पनि बहिरङ्ग विभागमा १२ घण्टा र अन्तरङ्ग विभागमा चौबिसै घण्टा उपलब्ध हुने उनको भनाइ छ । सार्वजनिक बिदाका दिनमा बहिरङ्ग सेवा बन्द हुने भए पनि सघन उपचार कक्ष सेवा भने २४ सै घण्टा खुल्ला हुने भएकाले काम छाडेर उपचार गर्नुपर्ने बाध्यता समेत हटेको छ ।
अस्पतालले सेवा विस्तार गरे पनि आवश्यक जनशक्तिको भने अभाव नै रहेको छ । यसको समाधानका लागि अहिले पनि सङ्घीय सरकारको मन्त्रालयमा रहेर कुरा गरिरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गिरीले बताए । जनशक्ति पाएमा आइसियु र भेन्टिलेटर सहितको सेवा सुरु गर्न आफूहरू तयार रहेको भन्दै उनले जनशक्तिको व्यवस्थापनको लागि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग पनि कुरा भएको बताए । १५ शय्यामा सञ्चालित अस्पताल ५० शय्यामा स्तरोन्नति गर्ने कार्य पनि अगाडि बढिरहेको बताउँदै उनले पर्वत अस्पतालको सेवा बढ्दा पर्वत सहित आसपासका जिल्लाको बिरामीले हजारौँ रुपैयाँ खर्च गरेर पोखराका महँगा अस्पतालबाट सेवा लिनुपर्ने बाध्यताको अन्त्य हुने दाबी गरे ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive