बुधबार, मंसिर २६, २०८१
Wednesday, December 11, 2024

प्रतिफल र पौरखी सहकारीको एकीकरणपछिको कारोबार सुरु

पर्वत : प्रतिफल बचत तथा ऋण सहकारी संस्था लि. र पौरखी कृषक कृषि सहकारी संस्था लि.बिच भएको एकीकरण पछि एकीकृत कारोबार सुरुवात गरिएको छ ।
यी दुई सहकारी एक आपसमा एकीकरण पश्चात् बनेको प्रतिफल बचत तथा ऋण सहकारी संस्था लि.को एकीकृत कारोबार बुधवार बिहान एक समारोहको आयोजना गरी सुरुवात गरिएको हो । कार्यक्रममा बोल्नुहुँदै कुश्मा नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम गौतमले सहकारीहरू पुर्णत नियम र सिद्धान्त भन्दा बाहिर गएर सञ्चालन गरिँदा समस्या आएको बताउँदै संस्थाले ऐन र कार्यविधि अनुरूप स्वनियमनमा सञ्चालन गर्नु पर्नेमा जोड दिनुभयो ।
उहाँले सदस्यता प्रदान गर्दा ऐन नियम र संस्थाको विनियमलाई ध्यानमा राख्न साथै सदस्यहरूलाई सहकारीको तालिम, शिक्षा र सूचना प्रणालीले एकाकार गरेर जोड्नु पर्ने बताउनुभयो । उहाँले कुश्मा नगरपालिकाले सहकारीहरू बिचको एकीकरण गर्ने कुरामा प्रोत्साहन गर्ने नीति रहेको बताउनुभयो । त्यसै गरी सहकारी जिल्ला सङ्घ पर्वतका अध्यक्ष शेषराज रेग्मीले सहकारी बिच एकीकरण हुँदै सङ्गठित रूपमा काम गर्नु राम्रो भएको बताउँदै यो अभियानलाई पुरस्कृत हुनुपर्नेमा जोड दिनुभयो । गल्ती कमजोरी गर्ने सीमित सहकारीको कारण सबै सहकारीहरू अहिले व्यवस्थापकीय दबाबमा रहेको बताउँदै उहाँले ऋण लिएर नतिर्ने र अटेरी गरेर हिँड्ने सदस्यको कारण सहकारीहरू जोखिममा रहेको हुँदा अब नियामक निकाय र सम्पूर्ण सहकारी अभियानको ध्यान त्यता तर्फ हुनुपर्नेमा बताउनुभयो ।
 कुश्मा नगरपालिका सहकारी शाखा प्रमुख ऋषिराम पौडेलले सहकारीहरूले वर्तमान अवस्थामा भोगेको समस्याहरूलाई ध्यानमा राख्दै तरलता व्यवस्थापन र कोषहरूको सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्नु भयो । सहकारीका लेखा तथा सुपरिवेक्षण समिति संयोजक शिवप्रसाद शर्माले सहकारी नियमानुसार नचलेर देखासिकी र व्यवहारिक रूपमा सञ्चालनको अभ्यासले समस्या आएको बताउँदै प्रतिफल सहकारीले आगामी दिनमा पूर्णतः सहकारीको सिद्धान्त भित्र रहेर कार्य गर्ने बताउनुभयो । उहाँले एकीकरणको आवश्यकता र अबको कार्य योजना बारेमा जानकारी गराउनुभएको थियो । सहकारीका अध्यक्ष मोहन आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव अनिता के.सी.ले राखेको कार्यक्रममा सहकारीका उपाध्यक्ष योगराज गिरी, कोषाध्यक्ष केदार आचार्य लगायतले बोल्नु भएको थियो ।
सहकारीले एकीकृत कारोबारको वित्तीय विवरण समेत सार्वजनिक गरेको छ । जस अनुसार कुल शेयर रकम १ करोड ७१ लाख ३ हजार, कुल कोष ८१ लाख ९१ हजार, निक्षेप २ करोड ४ लाख ४० हजार, ऋण  लगानी ४ करोड, ४६ लाख ९९ हजार र स्थिर सम्पत्ति १ लाख ३२ हजार रहेको छ । त्यसै गरी सहकारीले आधुनिक सूचना प्रणालीमा सदस्यलाई जोड्ने, तालिम तथा शिक्षामा जोड दिँदै सदस्यता प्रदान गर्नलाई सहजताको नीति अख्तियारी गरेर ५ वर्ष भित्र २५०० सदस्य पुराउने र त्यसको लागि खुला सदस्य र सहकारी एकीकरणलाई माध्यम बनाउँदै कुश्मा नगर क्षेत्रकै अग्रणी वित्तीय सहकारी बन्ने कार्य योजना रहेको जनाएको छ ।
spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive