शनिबार, माघ २६, २०८१
Saturday, February 8, 2025

पाठेघर र स्तन क्यान्सर पत्ता लगाउन ग्रामीण भेगमा स्क्रिनिङ शिविर

पर्वत : जिल्लाको जलजला गाउँपालिका–७ धाइरिङकी ८१ वर्षिया एक जना आमालाई आफूमा आङ खस्ने समस्या रहेको कुरा शनिवार मात्रै थाहा भयो । केही वर्ष अगाडि देखिनै उहाँमा उक्त समस्या रहेको कुरा चिकित्सकहरूले पत्ता लगाए, तर यही कुरा ती आमालाई थाहा नै थिएन । उमेरले ८१ वर्ष पुगेको बेलामा न उनी आफूमा उक्त समस्या रहेको भन्दै खोजी गर्न सदरमुकाममा रहेको अस्पतालमा आउने सम्भावना पनि सायदै थियो होला ।

महिलामा पाठेघरको मुख र स्तनमा क्यान्सर हुने क्रमलाई न्यूनीकरण गर्न प्रयास भइरहेका छन् । सहरी क्षेत्रमा बसोबास गर्नेहरूले स्वास्थ्य सेवामा सहज पहुँच पाउने भए पनि ग्रामीण क्षेत्रका महिलाहरू यो बारेमा त्यति धेरै सचेत छैनन् । बिरामी नै परेपछि मात्रै स्वास्थ्य संस्थामा जाने प्रचलनले पनि महिलामा पाठेघर र स्तन क्यान्सर गहिरिइरहेको हुन सक्ने अवस्था छ ।

यही अवस्था नआओस् भनेर स्वास्थ्य कार्यालय पर्वत र पर्वतकै जलजला गाउँपालिकाको समन्वयमा धाइरिङमा ‘निःशुल्क स्क्रिनिङ शिविर’ राखेर स्थानीय महिलाहरूलाई परीक्षणका लागि बोलाइएको थियो । स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत अञ्जलि पि.सीका अनुसार शिविरमा पर्वत अस्पतालकी स्त्री रोग विशेषज्ञ डा. सन्तोषी थपलिया, एमडीजपि डा. मिलान अवाले, सिनियर अनमी सरस्वती बराल, कुश्मा नगरपालिकाकी सिनियर अनमी दुर्गा सापकोटा, जलजला गाउँपालिकाको स्वास्थ्य शाखाकी सिनियर अनमी अञ्जलि वैरागी सहित पाठेघरको मुखको क्यान्सरको परीक्षण गर्ने विशेष तालिम भिआइए (भिजुअल इन्सपेक्सन विथ एसिटिक एसिड) प्राप्त गरेका स्वास्थ्यकर्मीहरू शान्ति शर्मा, राधा शर्मा र दिलु रिजाल सहितको टोलीले शिविरमा परीक्षण गरेको थियो ।

परीक्षणका लागि एक सय दुई जना महिलाहरू आएकोमा ८५ जनाको ‘भिआइए’ विधिमार्फत पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको परीक्षण गरिएको छ । यीमध्येका चार जनामा ‘भिआइए पोजेटिभ’ नतिजा आएको छ । क्यान्सरको सम्भावना हुन सक्ने भएकोले थप परीक्षणका लागि समन्वय गरिएको छ । यस्तै छ जनामा आङ खस्ने समस्या देखिएको छ । ‘स्क्रिनिङ’ गरिएकामध्ये कोहीमा पनि स्तन क्यान्सरको शङ्कास्पद अवस्था भने नदेखिएको शिविर व्यवस्थापक स्वास्थ्य कार्यालयकी पब्लिक हेल्थ नर्स सुमन शर्माले बताइन् ।

‘भिआइए’ विधिमा पाठेघरको मुखको मांसपेशीको कुनै नमुना निकालेर एसिटिक एसीडमा एक मिनेटसम्म राखेपछि क्यान्सरको शङ्का गर्न सकिने वा नसकिने भन्ने अवस्था टुङ्गो लाग्ने भएकोले ‘स्क्रिनिङ’ शिविरमा यसैका माध्यमबाट परीक्षण गर्ने गरिएका छन् । यदि क्यान्सरको शङ्का लागेको अवस्थामा भने थप अनुसन्धान र निदानको लागि पर्वत अस्पतालले आफूभन्दा माथिल्लो स्तरको स्वास्थ्य संस्थामा पठाउने उनको भनाइ छ ।

यसरी नै परीक्षण गर्दा चार जनामा ‘भिआइए पोजेटिभ’ देखिएपछि उनीहरूलाई थप परीक्षणको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘रेफर’ गरिएको छ । आङ खस्ने समस्या देखिएका अन्य छ जना महिलाहरूलाई पनि उपचारको लागि सोही अस्पतालमा नै पठाइएको छ ।

कार्यक्रमको लागि समन्वय गरेको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले ग्रामीण क्षेत्रमा रहेका धेरै महिलाहरू थाहै नपाई पाठेघरको मुख र स्तन क्यान्सरबाट पीडित भएको हुन सक्ने बताए । मानिस बाँच्न सक्ने भएकाले मात्रै उसले गर्ने कामहरू पूरा गर्न सकिने भएकोले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखिनुपर्ने उनको भनाइ छ । ग्रामीण क्षेत्रमा यस्ता खालका परीक्षण गर्न सक्ने दक्ष जनशक्ति र उपकरण पनि नहुने भएकाले राज्यले नै ग्रामीण क्षेत्रका नागरिकलाई खोजी खोजी स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने उपाध्यक्ष आचार्यले बताए ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive