पर्वत : गत आर्थिक वर्ष २०८०/०८१ मा पर्वतमा विभिन्न चार प्रकारका एक सय ५५ वटा प्राकृतिक विपद्का घटना भएका छन्। जसमा पाँच जनाको मृत्यु भएको तथा ६० लाख भन्दा बढी मूल्य बराबरको क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक खुमलाल भुसालका अनुसार एक वर्षको अवधिमा बाढी पहिरोका ९९, आगलागीका ४१, करेन्ट लागेका पाँच र चट्याङका १० वटा घटनाहरू भएका छन्। यी मध्येका बाढी पहिरोमा परेर चार जना र आगलागीमा परेर एक जना गरी पाँच जना मृत्यु भएको छ। आगलागीबाट दुई, करेन्टबाट तीन र चट्याङ लागेर सात जना गरी १२ जना घाइते हुँदा बाढी पहिरोमा परेर एक जना बेपत्ता रहेका छन्।
पशुपक्षीतर्फ बाढी पहिरोमा १०, आगलागीमा १८ र चट्याङमा दुई गरेर ३० वटाको मृत्यु भएको छ। भौतिक क्षतितर्फ करिब ६० लाख ७५ हजार रुपैयाँ बराबर रहेको प्रहरीले विवरण सङ्कलन गरेको छ।
बाढी पहिरोबाट ६० लाख ३० हजार, आगलागीबाट ३१ हजार र चट्याङबाट १४ हजार रुपैयाँ बराबरको क्षति भएको छ। बाढी पहिरोमा परेर ७० वटा घर, ११ वटा गोठ र १८ वटा अन्य संरचनामा, आगलागीबाट १२ वटा घर, ११ वटा गोठ र १८ वटा अन्य संरचनामा, करेन्टबाट दुई वटा अन्य संरचनामा र चट्याङबाट सात वटा घर, तीन वटा गोठ गरी १० वटामा क्षति भएको जिल्ला प्रहरी कार्यालय पर्वतले बताएको छ।
जिल्लामा हुने गरेका विपद्का घटना न्यूनीकरण गर्न तथा विपद् प्रतिकार्यका लागि नेपाल प्रहरीले सकेसम्मको मिहिनेत गरिरहेको उनले बताए। जिल्लाभरका लागि रहेका दरबन्दीहरू सम्बन्धित चौकीहरूमा हुनुपर्दा कतिपय विपद्मा नेपाल प्रहरी आवश्यकता अनुसार उपलब्ध नहुने तर प्रहरीले नेपाली सेना र सशस्त्र प्रहरी बलसँग मिलेर एकीकृत रूपमा उद्धार, राहत र पुन स्थापनामा खट्ने गरेको प्रहरी नायव उपरीक्षक भुसाल बताउँछन्।
जिल्लामा एक जना प्रहरी नायव उपरीक्षक, तीन जना प्रहरी निरीक्षक, सात जना प्रहरी प्रहरी नायव निरीक्षक, ३२ जना प्रहरी सहायक निरीक्षक, १७ जना प्रहरी वरिष्ठ हवलदार, ५१ जना प्रहरी हवलदार, ७२ जना प्रहरी सहायक हवलदार, एक सय ४५ जना प्रहरी जवान र नौ जना प्रहरी कार्यालय सहयोगी गरी तीन सय ४० दरबन्दी रहेको भए पनि हाल दुई सय ९२ दरबन्दीमा प्रहरी कार्यरत रहेका छन्।
उनीहरू प्रहरी नायव उपरीक्षक एक जना सहित चार जना प्रहरी निरीक्षक, ११ जना प्रहरी नायव निरीक्षक, २२ जना प्रहरी सहायक निरीक्षक, १७ जना प्रहरी वरिष्ठ हवलदार, ४५ जना प्रहरी हवलदार, ६४ जना प्रहरी सहायक हवलदार एक सय १८ जना प्रहरी जवान र १० जना प्रहरी कार्यालय सहयोगी कार्यरत छन्।
जिल्लामा एउटा जिल्ला प्रहरी कार्यालय, दुई वटा इलाका प्रहरी कार्यालय, एउटा जिल्ला ट्राफिक प्रहरी कार्यालय, १३ वटा प्रहरी चौकी, चार वटा अस्थायी प्रहरी पोस्ट, दुई वटा अस्थायी प्रहरी बिट सहित जिल्ला प्रशासन, जिल्ला अदालत लगायतका ठाउँमा पनि प्रहरी दरबन्दी कायम छन्।