फलेवास नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुले आर्थिक वर्ष २०८०/०८१ मा गरेका कामको समिक्षा भएको छ । नगरपालिका अन्तर्गत ११ वटा स्वास्थ्यचौकी, नगर अस्पताल र धुलिखेल अस्पतालले गतवर्षमा गरेका कामको समिक्षा गरिएको हो । समिक्षा कार्यक्रममा ११ वटै स्वास्थ्यचौकी, नगरअस्पताल र धुलिखेल अस्पतालले वर्षभरी गरेका कामको तथ्याङ्क सहित बिवरण प्रस्तुत गरेका थिए ।
स्वास्थ्य कार्यालय पर्वतले दिएका बिभिन्न सूचकहरुका आधारमा प्रस्तुत गरिएको प्रगति समिक्षाका क्रममा स्वास्थ्य संस्थाहरुले खोपको मात्रा, गर्भवती र सुत्केरीको अवस्था, गाउँका नागरिकमा स्वास्थ्यप्रतिको सचेतना, स्वास्थ्य बीमाको पहुँच लगायतको बिवरण प्रस्तुत गरेका थिए । नगरका सबै वडामा खोपको पहुँच पुगेको, नो होम डेलिभरी सबै वडामा लागु भएको, नगरको एम्बुलेन्सका कारण सुत्केरी र गम्भिर बिरामीलाई सदरमुकाम कुश्मा तथा पोखराका अस्पतालहरुमा बिरामी पुर्याउन भएको सहज लगायतको बिवरण पेश गरेका थिए ।
नगरले स्वास्थ्यका क्षेत्रमा फड्को मार्दैगरेको र त्यसका लागि एम्बुलेन्स, सडक पुर्वाधार, दक्ष स्वास्थ्यकर्मी लगायतको पहुँचले मुख्य भूमिका खेलेको समिक्षा कार्यक्रममा जानकारी गराइयो । कार्यक्रममा बोल्दै नगरप्रमुख गंगाधर तिवारीले नगरले सिमित स्रोतसाधनले पनि हरेक स्वास्थ्य संस्थालाई प्रविधि र सुविधासम्पन्न गराउन हरदम प्रयास गरेको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद आचार्यले नगरका हरेक स्वास्थ्य संस्थालाई सवल र सक्षम बनाउन नगरबाट हुनसक्ने सहयोगमा कन्जुस्याई नगरिएको बताउनुभयो ।
स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रविण शर्माले फलेवासले स्वास्थ्यका क्षेत्रमा धेरै फड्को मारेको आफुले पाएको बताउँदै यत्तिकैमा सन्तोष मान्नुपर्ने आधार भने नरहेको बताउनुभयो । कार्यक्रमको सहजिकरण फलेवासको स्वास्थ्य शाखा प्रमुख रुद्रप्रसाद सापकोटाले गर्नुभएको थियो । सोहि कार्यक्रमका अवसरमा कार्यसम्पादनका आधारमा उत्कृष्ठ स्वास्थ्य संस्थाहरुलाई पुरस्कृत गरिएको थियो ।
कार्य सम्पादनका आधारमा गतवर्ष भंगरा स्वास्थ्यचौकी प्रथम, पाङराङ स्वास्थ्यचौकी दोस्रो र कुर्घा स्वास्थ्यचौकी तेस्रो भएका छन् । चालु आर्थिक वर्षको साउनमा समेत कार्यसम्पादनमा भंगरा स्वास्थ्यचौकी प्रथम भएको छ । ति स्वास्थ्यसंस्थाहरुलाई नगरप्रमुख गंगाधर तिवारी, प्रमुख प्रशासकीय अधिृकत नारायण प्रसाद आचार्य लगायतले प्रमाणपत्र, दोसल्ला र नगद पुरस्कारले सम्मानित गर्नुभयो ।