पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजनामा सदरमुकाम कुश्मामा रहेको नारायण माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
समुदाय प्रहरी साझेदारी अन्तर्गत शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको हो । जोखिममा पर्न सक्ने तथा संवेदनशील वर्गका बालबालिकाहरूलाई लागू औषध दुर्व्यसन, साइबर अपराध, अनलाइन ठगी, अनलाइन जुवा, सडक सवारी सुरक्षा, यौनजन्य अपराध, घरेलु हिंसा, बालविवाह, बहुविवाह, लगायत महिला तथा बालबालिकाहरूसँग सम्बन्धित अपराधहरूको बारेमा जानकारी दिने साथै सम्भावित अपराध हुनबाट जोगाउने उद्देश्यले सचेतना कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक हेमबहादुर बि.क. ले मानव बेचबिखन, मानव ओसारपसार, अपराधसँग सम्बन्धित उजुरी गर्ने निकाय र विधि, पछिल्लो समयमा डिजिटल उपकरण र इन्टरनेटको प्रयोगबाट विकसित अपराध, ती उपर गरिने कारबाही लगायतको विषयमा विद्यार्थीहरूलाई जानकारी गराएका थिए । विद्युतीय माध्यमबाट हुने अपराध तथा ठगीहरूको सङ्ख्या वृद्धि हुँदै गइरहेको अवस्थामा बालबालिकाहरूलाई जानेर वा नजानेर जो कसैले पनि प्रयोग गर्न सक्ने तथा विद्यार्थी आफै पनि त्यस्ता गतिविधिमा संलग्न हुन सक्ने भएकोले यसको रोकथामको लागि विद्यार्थीहरूले अपनाउनुपर्ने सचेतनाको बारेमा प्रहरी निरीक्षक बि.क.ले सहजीकरण गरे ।
विद्यालयका प्रधानाध्यापक प्रकाश रिजालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रहरी नायव निरीक्षक पूर्णिमा थापाले गरेकी थिइन् । कार्यक्रममा सहभागी विद्यार्थीहरूले सचेतना कक्षाले आफूहरूलाई थाहा नभएका धेरै कानुनी प्रावधानहरूको बारेमा सिक्न पाएको बताएका छन् ।