पर्वत : स्क्रयाबल क्लब पर्वतको आयोजनामा पर्वतका विद्यालयहरुबीच स्क्रयाबल प्रतियोगिता सम्पन्न भएको छ ।
जिल्ला स्तरीय च्याम्पियनसिपका लागि भएको प्रतियोगितामा कालीगण्डकी एकेडेमी प्रथम भएको छ । कालीगण्डकीकी दिविशा थापाले पाँच खेलमा पाँच वटै जीत दर्ता गराउँदै आफूलाई च्याम्पियन बनाएकी हुन् । यस्तै पाँच खेलमा चार वटा जीत निकाल्दै नमुना अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयका सक्षम क्षेत्री दोस्रो स्थानमा, तीन जीत निकाल्दै कालीगण्डकी एकेडेमीकै विवश जि.सि तेस्रो स्थानमा र आदर्श अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयका स्मित पौडेल सान्त्वना स्थानमा आएका छन् । विवश र स्मितले समान तीन तीन खेल जीतेको भए पनि स्कोरका आधारमा कालीगण्डकी तेस्रो स्थानमा आएको छ ।
प्रतियोगितामा विजेता बनेका विद्यार्थीहरूलाई मेडल र प्रमाणपत्र वितरण गरिएको छ । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि कालीगण्डकी एकेडेमी कुश्माका संस्थापक प्रिन्सिपल वसन्तकुमार कर्माचार्यले आगामी दिनको सफलताको शुभकामना सहित मेडल र प्रमाणपत्र वितरण गरेका स्क्रयाबल क्लब अफ पर्वतका संयोजक विक्रम थापाले जानकारी दिए ।
आइतबारको प्रतियोगितामा विजेता बनेकी कालीगण्डकी एकेडेमीकी दिविशा थापा र दोस्रो बनेका नमुनाका सक्षम क्षेत्रीले आगामी कार्त्तिकमा गुल्मीमा आयोजना हुने लागेको राष्ट्रिय स्तरको स्क्रयाबल प्रतियोगितामा भाग लिन पाउने भएका छन् ।