बुध, फाल्गुन २७, २०८२
Wed, March 11, 2026

पर्यटन तथा उद्योग कार्यालय पर्वतद्वारा पातिचौरका पसलहरूमा अनुगमन 

अशोज २१, २०८१
पर्वत : पर्यटन तथा उद्योग कार्यालय पर्वतको अगुवाइमा जिल्लाको मोदी गाउँपालिकास्थित पातीचौर बजारमा रहेका खाद्य र खाजा पसलहरूको अनुगमन गरिएको छ ।
सोमबार कार्यालय प्रमुख अशोक कुमार नेपालीको संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेल, उद्योग वाणिज्य सङ्घ पर्वतका प्रतिनिधि कमलबहादुर जि.सी, प्रहरी नायव निरीक्षक पूर्णबहादुर थापा, उपभोक्ता महासङ्घ पर्वतकातर्फबाट सरिता भण्डारी, पत्रकार महासङ्घ पर्वतका प्रतिनिधि तथा पर्यटन तथा उद्योग कार्यालयका भिमप्रसाद अर्याल लगायतको टोलीले पातीचौर बजारमा सञ्चालित विभिन्न १० वटा पसलहरूमा अनुगमन गरेको हो ।
त्यस क्रममा कतिपय पसलहरूमा मूल्य सूचि नभएको, नवीकरण नगरेको, सामग्रीहरूमा लेबलीङ नभएको, पसलको होर्डिङ नभएको, म्याद गुज्रेका सामग्रीहरू समेत बिक्रीका लागि राखेको पाइएको छ । यस्तै एउटा खाजा पसलले अघिल्लो दिनमा बिक्री गर्नका लागि बफाएको करिब १५ प्लेट मःम बिक्री नभएपछि पुनः फ्रिजमा राख्दा चिस्यान नपुगेर गन्ध आएको, अर्को पसलमा पोखराको ताजा फूड्स प्रा.लि.बाट पर्वतमा आपूर्ति भएको ताजा नाम गरेको पाउरोटीमा उत्पादन र म्याद गुज्रने मिति सहितको लेबलीङ नगरेको पनि पाइएको छ ।
उपभोग्य मिति सकिएका सामग्रीहरूलाई निरीक्षण टोलीले छुट्टै प्याकिङ गरेर पहिलो पटक चेतावनी सहित उत्पादक कम्पनीमा फिर्ता गर्नका लागि निर्देशन दिएको छ । कतिपय पसलहरू स्थानीय तहमा दर्ता भएर सञ्चालनमा रहेको भए पनि उनीहरूले नियमित रूपमा कर नतिरेको पाइएको कर कार्यालयमा पुगेर कर चुक्ता गर्न निर्देशन दिइएको छ ।
निरीक्षण टोलीका संयोजक तथा पर्यटन तथा उद्योग कार्यालयका प्रमुख अशोक कुमार नेपालीले कतिपय पसलहरूले केही कुरा नजानेर वा नबुझेर व्यवस्थापनको  काम पूरा नगरेको भए पनि कतिपयले भने मनसायगत रूपमा नै म्याद गुज्रेका सामग्रीहरू राखेको जस्तो देखिएको बताए । उक्त क्षेत्रमा निरीक्षण टोलीले पुनः छड्के अनुगमन गर्ने भएकोले निर्देशन दिइएका पसलहरूले गल्ती नसच्याएको पाईमा कानुन अनुसार कारबाही गरिने उनको भनाई छ ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive