पर्वत : चाडबाड लक्षित सुरक्षा योजना अन्तर्गत पर्वत प्रहरीले तालिम प्राप्त कुकुर सहित सवारी साधन र यात्रुहरूको ‘चेकिङ’ सुरु गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रबिन विष्टका अनुसार बुधबारेदेखि जिल्लाका विभिन्न स्थानमा कुकुर सहितको प्रहरी टोलीले निगरानी गरिरहेको छ। जिल्लाको सबैभन्दा व्यस्त तथा मुस्ताङ, बागलुङ, म्याग्दी र पर्वतलाई पोखरासँग जोड्ने मुख्य सडक मध्य पहाडी लोकमार्ग र बजार क्षेत्रमा प्रहरीले बढी जाँच गरिरहेको छ।
चाडबाडको बेलामा लागू औषध र विस्फोटक पदार्थ ओसारपसार तथा सुरक्षा चुनौतीहरू बढी हुन सक्ने भएकाले प्रदेश प्रहरी कार्यालय पोखरासँगको समन्वयमा तालिम प्राप्त कुकुरहरू सहितको जाँच गरिएको डिएसपी विष्टले बताए। चाडबाडको बेलामा सहरबाट गाउँमा आउनेहरूले पटका लगायतका विस्फोटक पदार्थ भित्राउने तथा यही मौकामा लागू औषध ओसारपसारको पनि जोखिम धेरै हुने भएकोले पोखराको केनाइन शाखाबाट ल्याइएका कुकुरहरू सहितको टोली बजारमा खटिएको उनको भनाई छ।
‘जिल्लाको चाडपर्व लक्षित सुरक्षा योजना अनुसार शिवालय चोकमा दुई वटा कुकुर सहितको सुरक्षा जाँच टोलीले जाँच गरेको हो। कुकुरलाई विशेष गरेर लागू औषध र विस्फोटक पदार्थको ओसारपसार पत्ता लगाउने काममा प्रयोग गरिरहेका छौँ’, डिएसपी विष्टले भने, ‘प्रहरीको मुभमेन्ट समुदायमा रहेको छ। प्रदेश प्रहरीमा रहेको के अहिलेसम्मको जाँचमा त्यस्तो केही फेला परेको छैन। चाडबाडको बेलामा हुन सक्ने सुरक्षा चुनौतीहरूको बारेमा हामी सतर्क छौँ।’
प्रहरीले सदरमुकाम कुश्मा मात्रै नभएर साबिकको धौलागिरिका चार वटै जिल्लाहरू मुस्ताङ, बागलुङ, म्याग्दी र पर्वतमा भित्रिने मुख्य नाका पर्वतको मोदी गाउँपालिकास्थित डिमुवामा पनि कुकुर सहितकै जाँच गरिरहेको छ। मुख्य नाकाबाट छिरेपछि अन्य ग्रामीण सडकहरू प्रयोग गरेर गैह्र कानुनी काम हुन सक्ने भएकोले जिल्लामा भित्रिने मुख्य नाका बसेर सवारी साधन तथा यात्रुहरूको जाँच भइरहेको छ।
चाडबाड सुरक्षा : तालिम प्राप्त कुकुर सहितको ‘चेकिङ’मा पर्वत प्रहरी
