बिहिबार, चैत्र १३, २०८१
Thursday, March 27, 2025

डेंगु नियन्त्रणमा मनोसामाजिक परामर्शबारे अभिमुखीकरण

पर्वत : नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतको आयोजनामा स्वयंसेवकहरूको लागि डेंगु नियन्त्रणमा मनोसामाजिक परामर्शबारे अभिमुखीकरण गरिएको छ ।
डेंगु सहित अन्य सङ्क्रामक अवस्था, विपद्, उद्धार लगायतका अवस्थामा खटिनेहरूको स्वयं सुरक्षा र समस्यामा रहेकाहरुको  मनोविज्ञानको विषयमा अभिमुखीकरण गरिएको हो । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय समितिका तर्फबाट कार्यक्रममा उपस्थित हुनुभएका मनोसामाजिक परामर्शदाता तथा कार्यक्रमका संयोजक टिकाराज पौडेलले सहभागीहरूलाई विविध विषयमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्वत शाखाका पदाधिकारी तथा सदस्यहरू, विभिन्न उपशाखाका सभापति तथा सदस्यहरू, डेंगु तथा अन्य अवस्थामा स्वयंसेवकको रूपमा खटिनेहरूको सहभागिता रहेको थियो । डेंगुको रोकथाम  तथा नियन्त्रणका लागि ‘डेनिस रेडक्रस’ ले पर्वत रेडक्रसलाई दिएको कार्यक्रम तथा योजना अनुसार उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा अभिमुखीकरण गर्दै मनोसामाजिक परामर्शदाता पौडेलले सङ्कटको बेलामा मानिसहरूमा पर्न सक्ने प्रभाव, बिरामीको मनोविज्ञान, उनीहरूसँग उद्धारकर्ता वा अन्य सहयोगीहरूले गर्नुपर्ने व्यवहार, तनाव व्यवस्थापन, प्राथमिक उपचार, व्यक्तिमा रहेका नकारात्मक धारणाको बारेमा थाहा पाउन सकिने लक्षण, तनाव र त्यसको सामना लगायतको विषयमा सहभागीहरूलाई जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतका सभापति रुद्रबहादुर रिमालले पर्वतमा एक हजार दुई सय जना भन्दा बढीमा डेंगु सङ्क्रमणको पुष्टि भइसकेको भन्दै अझै पनि सचेतना अपनाउन आवश्यक रहेको बताउनुभयो । असोज महिना पनि सङ्क्रमणको जोखिममा रहेको र दिनहुँ जसो सङ्क्रमणको पुष्टि भइरहेकोले पर्वत रेडक्रसले चलाइरहेको अभियानहरूमा सहभागी हुन उहाँले अनुरोध गर्नुभयो । ‘डेनिस रेडक्रस’ले पर्वत रेडक्रसलाई गरेको सहयोगले पर्वतलाई सुरक्षित राख्नका लागि महत्त्वपूर्ण सहयोग मिलेको उहाँको भनाई छ । डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियानले प्रभावकारी काम गरेको अनुभूति भएको पनि सभापति रिमालको भनाइ छ ।
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive