पर्वत : पर्वतको कुश्मा नगरपालिकाको आयोजनामा शिक्षक तथा विद्यार्थीहरूको प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत बिहीबार शिक्षकहरूबिच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
नगर स्तरीय प्रतियोगिताबाट छनोट गरेर जिल्ला स्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गराउन कुश्मास्थित नारायण माध्यमिक विद्यालयमा प्रतियोगिताको आयोजना गरिएको हो । शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशले प्रदेशका ११ वटै जिल्लाहरूमा प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गरिरहेको छ ।
बिहीबारको नगरपालिका स्तरीय हाजिरी जवाफ प्रतियोगितामा राष्ट्रिय बाल शिक्षा सदन अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय प्रथम, हिमालय माध्यमिक विद्यालय र सूर्यप्रकाश माध्यमिक विद्यालय द्धितिय, कालिका माध्यमिक विद्यालय तृतीय र पाङ धैरेनी माध्यमिक विद्यालय सान्त्वना स्थानमा आएका छन् । उनीहरूलाई सोही अवसरमा पुरस्कार समेत वितरण गरिएको छ ।
कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजालले शिक्षकहरूबिच भएको हाजिरी जवाफ प्रतियोगिता निकै उपयोगी लागेको बताइन् । विद्यार्थीलाई अध्ययनशील बनाउनको लागि शिक्षक समेत अध्ययनशील हुनुपर्ने र त्यसका लागि यस्ता प्रतियोगिता महत्त्वपूर्ण हुने उनको भनाइ छ । शिक्षक र विद्यार्थीका प्रतिभा पहिचान गर्नको लागि नगरपालिकाको तर्फबाट गर्नुपर्ने आवश्यक पहल गर्ने सकेसम्म छिट्टै नै शिक्षकहरूबिचको अर्को हाजिरी जवाफ प्रतियोगिता सञ्चालनको लागि आफूले पहल गर्ने उपप्रमुख रिजालले बताइन् ।
कार्यक्रममा नगर शिक्षा शाखा अधिकृत मोतीमाया ढकाल तिवारी र दीपक सुवेदी, नारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाश रिजाल, सहभागीका तर्फबाट तुलसी थापा र विजेता विद्यालयका सहभागी प्रेम बहादुर दर्जी, लगायतले पनि बोलेका थिए । शिक्षा शाखाका प्रमुख विष्णुप्रसाद तिवारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।