शनि, जेष्ठ ११, २०८२
Sat, May 24, 2025

कुश्माको स्वर्णिम अवकाश योजनामा १० शिक्षकले जागिर छाडे

माघ ८, २०८१

पर्वत : जिल्लाको कुश्मा नगरपालिकाले ल्याएको स्वर्णिम अवकाश योजनाअन्तर्गत १० जना शिक्षकले अवकाश रोजेका छन्।

प्राथमिक तहमा दरबन्दी मिलान गर्नुपर्ने बाध्यता भए पनि शिक्षकहरूको दरबन्दी धेरै हुँदा दरबन्दी मिलानमा समस्या भएपछि नगरपालिकाले यो योजना हालै मात्र सार्वजनिक गरेको थियो।

स्थायी सेवा अवधि पूरा भएका शिक्षकहरूलाई अवकाश हुनका लागि ल्याएको स्वर्णिम अवकाश योजनामा आवेदन दिएका मध्येबाट १० जनाको अवकाश भएको कुश्मा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख विष्णुप्रसाद तिवारीले बताए।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशव्यापी रूपमा शिक्षकहरूको दरबन्दी मिलानका लागि स्थानीय तहहरूलाई विगतदेखि नै ताकेता गर्दै आइरहेको छ।

कुश्मा नगरपालिकामा कुल ३१० प्राथमिक तहको दरबन्दी रहेकोमा यो सङ्ख्या घटाएर २१९ मा झार्नुपर्ने अवस्था छ। नगरपालिकाका ९१ दरबन्दी ‘पुल’ अवस्थामा रहेका थिए। मन्त्रालय र विभागबाट कुश्मा नगरपालिकामा बढी भएका दरबन्दीहरू कटौती गरी बागलुङ र नवलपरासी पश्चिम पठाउने निर्देशन आएपछि नगरपालिकाले क्रमिक रूपमा दरबन्दी कटौतीको काम गरिरहेको छ। तर, पनि २६ दरबन्दी अझै बढी हुँदा दरबन्दी मिलानमा समस्या भएपछि स्थायी सेवा अवधि पूरा भएका शिक्षकहरूलाई अवकाशमा आकर्षित गर्न स्वर्णिम अवकाश योजना ल्याइएको थियो। १० जना शिक्षकहरुले जागिर त्यागेपछि अब १६ वटा दरबन्दी बढी भएका छन्।

अवकाश लिएका शिक्षकहरूमा झलक सुवेदी, सोमप्रसाद आचार्य, भानुभक्त सुवेदी, ख्यामराज सुवेदी, खगेश्वरी केसी, रामप्रसाद पौडेल, ऋषिराम सुवेदी, लीलाराज पौडेल, रामप्रसाद शर्मा र नारायणदत्त गौतम छन्।

उनीहरू २०४८, २०५० र २०६० सालमा स्थायी भएका शिक्षक हुन्। उनीहरूले २०८३, २०८५ र २०८७ मा अवकाश पाउने मिति थियो।

यो योजना लागू गर्नको लागि चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ विनियोजन भएको थियो। यो रकम दुई लाख रुपैयाँका दरले १० जना शिक्षकलाई मात्रै दिने गरी योजना ल्याइएको थियो।

स्थायी सेवा पूरा भएर पनि सेवा गर्न पाउने ६० वर्षसम्मको उमेरको अवधि जसको बढी छ उही शिक्षकहरूलाई क्रमशः अवकाशमा समावेश गरिएको हो। कार्यविधिमा २०८२ सालको मङ्सिरपछि अवकाश भएका शिक्षकहरूले मात्रै यो योजनामा सहभागी हुन पाउने भनिएको थियो।

विस्थापित गर्नुपर्ने दरबन्दीहरू विस्तारै घटाउँदै लगिएकाले सार्नुपर्ने सबै दरबन्दी सारेपछि नगरपालिकाभित्रको दरबन्दी मिलान र पुनः वितरणमा सजिलो हुने शिक्षा शाखा प्रमुख तिवारीले बताए।

‘यस वर्ष १० जनालाई मात्रै यो योजनामा समावेश गर्दा हामीले घटाउनुपर्ने दरबन्दीको सङ्ख्या १६ मात्रै बाँकी रहेको छ। यो बिचमा स्वतः अवकाश पाउने र आफैँले अवकाश लिने पनि हुनुहुन्छ। अर्को वर्ष पनि करिब १० जनाका लागि योजना ल्याए दरबन्दी मिल्छ’,

उनले  भने, ‘त्यसपछि नगरपालिकाको आन्तरिक मिलान गर्ने हो। कहीँ शिक्षक नभएर निकै कठिन भएको छ, कहीँ विद्यार्थी नै नभएर एक/दुईजना विद्यार्थीलाई राखेर कक्षा चलाउनुपरेको छ। अब पालिकाको पुनः वितरणमा यी कुरा मिल्छन्।’

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive