पर्वत : पर्वतको कुश्मा नगरपालिका–१४ आर्थरमा रहेको शुभकल्याण आधारभूत विद्यालयले ६३ औँ वार्षिकोत्सवको अवसरमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालयका प्रधानाध्यापक सुरेन्द्र शर्मा गौतमका अनुसार नगरपालिका स्तरीय अन्तर प्राथमिक विद्यालय तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको हो । प्रतियोगितामा आइबल एकेडेमी प्रथम, मंगलोदय मा.वि. चुवा द्वितीय, कालिगण्डकी एकेडेमी तृतीय र पञ्चकोशी मा.वि. आर्थर सान्त्वना स्थानमा आएका छन् ।
विजेता विद्यालयहरूले पुरस्कार स्वरूप क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रथम भएको आइबल एकेडेमीले ट्रफी समेत प्राप्त गरेको छ । १६ औँ संस्करणको १३ औँ प्रतियोगिताको रूपमा कार्यक्रम आयोजना गरिएको हो । यो प्रतियोगितामा कुश्मा नगरपालिकाका विभिन्न १४ वटा विद्यालयहरूको सहभागिता रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुना गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य भक्त बहादुर कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा कुश्मा नगरपालिकाका शिक्षा अधिकृत दीपक सुबेदी लगायतको सहभागिता रहेको थियो । विद्यालयले हरेक वर्ष यसरी नै कार्यक्रमहरूको आयोजना गर्दै वार्षिकोत्सव कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । गत वर्षको १२ औँ प्रतियोगितामा कुश्मा नगरपालिकाभित्रका विभिन्न १९ वटा विद्यालयहरूले प्रतिस्पर्धा गरेका थिए ।