बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

चार वर्षमा पर्वतका झन्डै साढे छ सय कुकुरको बन्ध्याकरण

फाल्गुन २५, २०८१

पर्वत : पछिल्ला चार वर्षको अवधिमा पर्वतका करिब साढे छ सय कुकुरहरूको स्थायी बन्ध्याकरण गरिएको छ।

 

 

गण्डकी प्रदेश सरकारले कार्यक्रम अन्तर्गत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले पछिल्ला चार वर्षदेखि निरन्तर रूपमा बन्ध्याकरण शिविरको आयोजना हुँदै आइरहेको छ। यस वर्ष फागुन २२, २३ र २४ गते तीन आयोजना गरिएका दुई वटा शिविरमा भाले ९६ वटा र पोथी ९३ वटा गरी एक सय ८९ कुकुरहरूको स्थायी बन्ध्याकरण गरिएको हो।

पशु स्वास्थ्य प्राविधिक प्रकाश परियारका अनुसार फागुन २२ मा जलजला गाउँपालिकामा राखिएको शिविरमा ६६ वटा तथा फागुन २३ र २४ गते कुश्मामा राखिएको शिविरमा एक सय २३ वटा कुकुरको बन्ध्याकरण गरिएको हो। केन्द्रको कुश्मामा रहेको कार्यालयमा कुश्मा नगरपालिका सहित मोदी गाउँपालिका र फलेवास नगरपालिकाका कुकुरहरूलाई कुश्मामा ल्याएर बन्ध्याकरण गरिएको हो।

यसअघि २०७८ सालमा एक सय ६४ वटा, २०७९ सालमा ८८ वटा र २०८० सालमा एक सय ९५ वटा कुकुहरूको बन्ध्याकरण गरिएको कार्यालयको तथ्याङ्क छ। विगतका वर्षहरूमा सामुदायिक र घर पालुवा सबै कुकुरहरूको बन्ध्याकरण निःशुल्क रूपमा गर्ने गरिएको भए पनि यस वर्षबाट भने घरपालुवा कुकुरहरूको शुल्क लिन थालिएको छ। यस वर्ष घरपालुवा भाले कुकुरका लागि प्रति कुकुरको दुई सय रुपैयाँ र पोथीको पाँच सय रुपैयाँ निर्धारण गरिएको थियो। यो दर अनुसार यस वर्ष ४० वटा भालेबाट आठ हजार रुपैयाँ र ३४ वटा पोथीबाट १७ हजार गरी कुल २५ हजार रुपैयाँ राजश्व उठेको छ।

कार्यालयका निमित्त प्रमुख डा. ऋषभ गुरागाईँका अनुसार नेपाल सरकारले सन २०३० सम्ममा कुकुरको टोकाइबाट हुने रेबिज लागेर मानिसको मृत्यु हुने सङ्ख्यालाई शून्यमा झार्ने उद्देश्य लिएको छ। सामुदायिक कुकुरहरूको सङ्ख्या बढ्दै जाँदा सवारी दुर्घटनाहरू बढ्दै जाँदा पनि जनधनको क्षति भएकाले पनि सामुदायिक कुकुरहरूको सङ्ख्या घटाउन बन्ध्याकरण शिविर आवश्यक रहेको उनले बताए।

‘यहीँ कुश्माको अवस्था हेर्ने हो भने दैनिक जसो सामान्य दुर्घटनाहरू कुकुरकै कारण भइरहेको देख्न सकिन्छ। सामुदायिक कुकुरहरू बेवारिसे अवस्थामा सडकमा डुल्ने र विशेष गरी दुई पाङ्ग्रे सवारीहरूलाई खेद्ने झम्टिने गर्दा दुर्घटना भएका छन्’, डा. गुरागाईँ भन्छन्, ‘अर्कोतर्फ पैदलयात्रीहरूलाई समेत टोक्ने गरेको पाइएको छ। बन्ध्याकरण गरेर सङ्ख्या घटाउने बाहेकका विकल्प नभएकोले यसरी नै शिविर चलाउनुपर्छ।’ सामुदायिक कुकुरहरूले बाटोमा जथाभाबी दिसापिसाव गर्दा सडकहरू फोहोर हुने र मानिसमा विभिन्न सङ्क्रमणहरू फैलिने जोखिम रहेको पनि उनले बताए।

पर्वतमा करिब दुई हजार दुई सय घरपालुवा र पाँच सय सामुदायिक कुकुरहरू रहेको अनुमान छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive