बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

कुश्मा नगरपालिकाको बिएलईमा उत्तर पुस्तिका परीक्षण सम्पन्न

पर्वत : पर्वतको कुश्मा नगरपालिकाले चालु शैक्षिक सत्रको अन्त्यमा लिएको आधारभूत तह उत्तीर्ण परीक्षा अन्तर्गत उत्तर पुस्तिका परीक्षणको काम सकिएको छ ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख विष्णुप्रसाद तिवारीका अनुसार गत फागुन २५ गतेबाट चैत पाँच गते परीक्षा सकिएको थियो । परीक्षा भएकै दिन परीक्षा केन्द्रहरूबाट उत्तर पुस्तिका नगरपालिकाको शिक्षा शाखामा बुझाइएको थियो । नगरपालिकाभित्रका आधारभूत तह सञ्चालन गरिरहेका २७ वटा विद्यालयका छ सय ३३ जना बिद्यार्थीहरु यस पटकको आधारभूत तह परीक्षामा सहभागी भएका थिए ।
विद्यार्थीहरूले प्राप्त गरेको प्रारम्भिक उपलब्धि स्तरको बारेमा विश्लेषण गरेर केही दिनपछि नै नतिजा प्रकाशन गरिने तयारी भइरहेको शाखा प्रमुख तिवारीले बताउनुभयो । नगरपालिकाले अनिवार्य विषयतर्फका अङ्ग्रेजी, नेपाली, गणित, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा र स्वास्थ्य तथा शारीरिक शिक्षा विषयको परीक्षा आफूले सञ्चालन गरेको थियो । स्थानीय विषय अन्तर्गत विद्यालयहरूले फरक फरक विषयहरू अध्यापन गराइरहेकाले उक्त विषयको परीक्षा सञ्चालनको जिम्मेवारी सम्बन्धित विद्यालयलाई नै दिइएको थियो । स्थानीय विषयको रूपमा अध्यापनरत विषयहरू प्राप्ताङ्क विद्यालयहरूले नगर शिक्षा शाखामा पठाउने तथा विद्यालयहरूले आन्तरिक मूल्याङ्कनको अङ्क एकीकृत शैक्षिक सूचना व्यवस्थापन (इमिश) प्रणालीमा भर्ने काम भइरहेको छ ।
विद्यालयबाट प्राप्त हुने अङ्कको काम पूरा भएपछि अन्तिम नतिजा सहितको विश्लेषण पश्चात् नतिजा प्रकाशको तयारी कुश्मा नगरपालिकाले गरेको छ । कुश्मा नगरपालिकाले आठ कक्षाको मात्रै नभएर चार कक्षादेखि नौ र ११ कक्षाका परीक्षाहरू पनि नगरपालिका स्तरमा सञ्चालन गरेको छ । ११ कक्षाको परीक्षा सञ्चालन गर्न बाँकी नै रहेको भए पनि अन्य कक्षाका लागि आवश्यक प्रश्नपत्रहरुको निर्माण र व्यवस्थापनको काम नगरपालिकाले गरेको हो ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img

भर्खरै

News Archive