मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

१४ औँ दिनमा यस्तो छ शिक्षक आन्दोलनको तयारी

वैशाख २, २०८२
पर्वत : अविलम्ब शिक्षा ऐन जारी गर्नुपर्ने माग सहित देशभरका शिक्षकहरू राजधानी केन्द्रित प्रदर्शनमा छन्।
मङ्गलवार १४ औँ दिनको आन्दोलन गर्ने तयारीमा शिक्षकहरू जुटेका छन्। प्रदर्शन क्रमिक रूपमा बढ्दै गइरहँदा सरकारमाथि चौतर्फी दबाब पनि बढिरहेको छ। नयाँ शैक्षिक सत्र सुरु भएसँगै भर्ना अभियान र पाठ्यपुस्तक वितरणको काम सुरु गरिहाल्नुपर्ने भए पनि शिक्षकहरू भने काठमाण्डौँको सडकमा छन्।
शिक्षकहरूको आन्दोलन अनुशासित, मर्यादित र रचनात्मक बनिरहँदा आन्दोलन लामो नलागेको शिक्षकहरूको दाबी छ। राजनीतिक आन्दोलनहरूमा हिंसा र बल प्रयोग हुने गरेको भए पनि शैक्षिक आन्दोलन मर्यादित र कला प्रदर्शनको माध्यम बनेकाले पनि आफूहरूमा थकाई नलागेको उनीहरूको भनाइ छ।
यही अवस्थामा शिक्षकहरुले १४ औँ आन्दोलन मध्यान्ह १२ बजे माइतीघर मण्डलाबाट सुरु हुँदै छ। आन्दोलनको आयोजना गरेको नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीका अनुसार मङ्गलवार माइतीघर मण्डलाबाट सुरु हुने जुलुस बानेश्वरमा पुगेर विरोध सभामा परिणत हुने छ। उक्त कार्यक्रम अपराह्न तीन बजेसम्म चल्ने उनले सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत जानकारी गराएका छन्।
उनले काठमाडौँ भित्रिँदै गरेका शिक्षकहरूलाई स्वागत गर्दै आन्दोलनमा टिकिरहेकाहरूको प्रशंसा गरेका छन्। आन्दोलनमा सहभागी हुन बाँकी रहेका शिक्षकहरूलाई आन्दोलनमा सहभागिता जनाउन सुवेदीले आह्वान पनि गरेका छन्। आन्दोलनलाई मर्यादित बनाउन महासङ्घबाट निषेध गरिएका कामहरू नगर्न पनि उनले शिक्षकहरूलाई अनुरोध गरेका छन्। यस्तै जिल्ला जिल्लामा निरीक्षण अनुगमनमा गोप्य रूपमा आफ्ना साथीहरू खटिएको उनले जानकारी गराएका छन्।
आफूहरूले राखेका विषयमा निकास ननिस्केसम्म आन्दोलनमा रहीहरहने भन्दै अध्यक्ष सुवेदीले आन्दोलन सबैको साझा भएको उल्लेख गरेका छन्। आन्दोलनबाट निस्किने उपलब्धिमा पनि सबैको बराबरी हिस्सेदारी हुने भन्दै उनले सहभागिता तथा योगदानमा पनि बराबरी हिस्सेदारी आवश्यक रहेको बताएका छन्।
सरकारले आन्दोलनप्रति गम्भीरता नदेखाएपछि नेपाल शिक्षक महासङ्घले सोमबार विज्ञप्ति जारी गरेर कक्षा १२ को परीक्षा, भर्ना अभियान लगायतका कुनै पनि शैक्षिक गतिविधिमा सामेल नहुन आग्रह गरिसकेको छ। वैशाख ११ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष, निरीक्षक लगायत कुनै पनि काममा संलग्न नहुन प्रधानाध्यापक, शिक्षक र कर्मचारीहरूलाई आग्रह गरेको हो।
आन्दोलनको अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना लगायतका सबै काममा संलग्न नहुन पनि आग्रह गरिएको छ। महासङ्घले प्याब्सन र एनप्याब्सनलाई पनि आन्दोलनमा बोलाएको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img

भर्खरै

News Archive