मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

नेपाली सेनामा २८ सय जना भर्ना गर्न विज्ञापन खुल्यो

पर्वत : नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका सैन्य पदमा खुल्ला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्न दुई हजार आठ सय जनाका लागि दरखास्त आह्वान भएको छ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइट वा भर्ना छनौट निर्देशनालयको आधिकारिक पोर्टलबाट अनलाइन दरखास्त फाराम भरी दरखास्त दिन सकिने भर्ना छनौट निर्देशनालय जङ्गी अड्डाले बताएको छ। सैन्य पदमा पूर्ति गर्नको लागि सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक रूपमा असक्त नेपाली सैनिकका सन्तति, खुल्ला तथा समावेशीतर्फ महिला, आदिवासी÷जनजाति, मधेसी, दलित र पिछडिएको क्षेत्रबाट आवेदन मागिएको छ।
भर्ना छनौट निर्देशनालयका अनुसार उपत्यका पृतना हेडक्वार्टरमा दुई सय २५ जना, भक्तपुरको रणशेर गणमा एक सय जना, इटहरीको पूर्वी पृतना हेडक्वार्टरमा एक सय ७५ जना, पाँचथरको बीरदल गणमा ७५ जना, धनकुटाको नं.२ बाहिनी अड्डामा ७५ जना, बर्दिबासको मध्य पूर्वी पृतना हेडक्वार्टरमा एक सय २५ जना माग गरिएको छ। यस्तै जितपुरको नं.२८ बाहिनी अड्डामा ७५ जना, रामेछापको खड्ग दल गणमा ५० जना, हेटौँडाको मध्य पृतना हेडक्वार्टरमा ७५ जना, भरतपुरको नयाँ सबुज गणमा ७५ जना, गजुरीको भैरव गणमा ७५ जना भर्ना गरिँदै छ।
पोखराको पश्चिम पृतना हेडक्वार्टरमा एक सय ७५ जना, बागलुङको नं.२३ बाहिनी अड्डामा ५० जना, गोरखाको रुद्रध्वज गणमा ५० जना, बुटवलको मध्यपश्चिम पृतना हेडक्वार्टरमा दुई सय ७५ जना, गुल्मीको रामवाण गुल्ममा ५० जना, दाङको ज्वालादल गणमा एक सय जना छनौट गरिने छ। यस्तै रोल्पाको सुर्यदल गणबाट ५० जना, सुर्खेतको उत्तर पश्चिम पृतना हेडक्वार्टरबाट तीन सय २५ जना, बाँकेको नं.४ बाहिनी अड्डाबाट एक सय ७५ जना, जुम्लाको नं.२४ बाहिनी अड्डामा ५० जना, कैलालीको सुदूरपश्चिम पृतना हेडक्वार्टरमा दुई सय जना, कञ्चनपुरको नं. २५ बाहिनी अड्डाबाट एक सय ५० जना, दिपायलको नं.५ बाहिनी अड्डाबाट ७५ जना र डडेल्धुराको अर्जुनवाण गणबाट ५० जना छनौट गरिने छ।
भर्ना हुनको लागि यही वैशाखको २७ गतेसम्म आवेदन दिन सकिने र दोब्बर दस्तुर बुझाई वैशाख २८ देखि जेठ तीन गतेसम्म आवेदन दिन सकिने छ। भर्ना हुनको लागि कम्तीमा आधारभूत तह (कक्षा ८) उत्तीर्ण गरेको हुनुपर्ने तथा कक्षा नौ र १० को शैक्षिक प्रमाणपत्र पेस गर्नुपर्नेहरुले पनि कक्षा आठ उत्तीर्ण गरेको शैक्षिक योग्यताको प्रमाणपत्र पेस गर्नुपर्ने भनिएको छ। तर एस.एल.सी÷एस.ई.ई. उत्तीर्ण भएकाहरूले भने आधारभूत तहको प्रमाणपत्र पेस गर्नु नपर्ने भनिएको छ।

वैशाख ३, २०८२

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img

भर्खरै

News Archive