शनि, माघ १०, २०८२
Sat, January 24, 2026

क्यान पर्वतको आयोजनामा तालिमसँगै वक्तृता सम्पन्न

ए.आई.ले परिणाममुखी नतिजा दिइरहेको छ : प्रमुख प्रशासकीय अधिकृत पौडेल

बैशाख १९, २०८२
पर्वत : सन २०२५ को सूचना प्रविधि दिवसको अवसर पारेर कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) पर्वतको आयोजनामा कृत्रिम बौद्धिकता अर्थात् आर्टिफिसियल इन्टीलीजेन्सको बारेमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कुश्मामा आयोजना भएको कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका सहायक प्राध्यापक तथा कम्प्युटर इन्जिनियर डा. मनोज शाक्यले सहभागीहरूलाई पछिल्ला दिनमा बढिरहेको ए.आई.को बारेमा प्रशिक्षण गर्नुभएको छ । जिल्लाका विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, कर्मचारीहरू, जनप्रतिनिधिहरू तथा अभिभावकहरूको समेत सहभागिता रहेको कार्यक्रममा कृत्रिम बौद्धिकताको प्रयोगका बारेमा पछिल्लो अवस्थाका बारेमा जानकारी गराइएको छ ।
प्रशिक्षक शाक्यले कार्यक्रममा सहजीकरण गर्दै ए.आई.को प्रयोग भइरहेका क्षेत्रहरूको बारेमा प्रशिक्षण दिनुभयो । कतिपय ए.आई.सफ्टवेयरहरू निर्माणको क्रममा अपनाइने तरीका, तिनीहरूले दिने नतिजा, नतिजामा आउन सक्ने विविधताको कारणका बारेमा पनि सहभागीहरूलाई प्रशिक्षण दिइएको छ ।
कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले ए.आई.को प्रयोगबाट हरेक कुराहरू सम्भव हुँदै गइरहेको र यसले परिणाममुखी नतिजा दिँदा पनि यसप्रतिको विश्वास बढिरहेको उल्लेख गर्नुभयो । पछिल्लो समयमा विद्यार्थीहरूले ज्ञान आर्जनका लागि ए.आई.को प्रयोग बढाइरहेको बेलामा यसको सही प्रयोगका लागि पनि ध्यान दिनुपर्ने सुझाव राख्नुभयो । सूचनाको बढ्दो प्रयोगले कतिपय क्षेत्रमा मानवीय जनशक्तिको आवश्यकता बढ्दै गइरहेकोले हरेक व्यक्तिले आफूलाई प्रविधिमैत्री बनाउनुपर्ने बेला आएको उहाँको भनाई छ ।
कार्यक्रममा कुश्मा नगरपालिकाको सामाजिक विकास समितिका संयोजक तथा कुश्मा नगरपालिका–६ का सभापति ईश्वर गिरी, शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख मतिलाल चपाई, क्यानका केन्द्रीय सदस्य चिन्तामणि बास्तोला लगायतले पनि कृत्रिम बौद्धिकताको बढ्दो प्रयोगको बारेमा धारणा राख्नुभयो । कार्यक्रमको उद्देश्यका बारेमा क्यान पर्वतका कोषाध्यक्ष विष्णुप्रसाद सुवेदीले प्रस्ट्याउनुभएको थियो । क्यान पर्वतका अध्यक्ष भरत सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मिलन पौडेलले गर्नुभएको थियो ।
यसैबिच, आई.सी.टी दिवसकै अवसरमा क्यान पर्वतको आयोजनामा अन्तर जिल्लाका अन्तर स्थानीय तहका विद्यालयहरुबीच वक्तृता प्रतियोगिता सम्पन्न भएको छ ।
पर्वतका विभिन्न विद्यालयबाट कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरू सहभागी भएको प्रतियोगितामा नमुना अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयकी सजता गिरी प्रथम, नारायण माध्यमिक विद्यालय कुश्माका सन्तोष पौडेल द्वितीय, राष्ट्रिय बाल शिक्षा सदनकी सुप्रिमा रिमाल र थापाठाना माध्यमिक विद्यालयकी गरिमा शर्मा तृतीय तथा बागलुङ बलेवाको गणेश माध्यमिक विद्यालयकी अनुज्ञा कँडेल सान्त्वना स्थानमा आएकी छिन् । उनीहरूलाई पुरस्कार स्वरूप क्रमशः पाँच हजार, तीन हजार, दुई हजार र एक हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive